चितवन– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लोकतान्त्रिक आन्दोलनका बलिदान र सहिदहरूको योगदान नबिर्सन आग्रह गर्नुभएको छ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले चितवनमा आज निलो झण्डा फहरिएको भए पनि त्यसको जगमा विगतका आन्दोलन र सहिदहरूको रगत रहेको स्मरण गराउनुभयो।
“निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनुपर्छ,” उहाँले भन्नुभयो, “पुराना आन्दोलनका बलिदान र सहिदलाई बिर्सन मिल्दैन, विगतका योगदानलाई भुल्नुहुँदैन।”
उहाँले २०१८ सालमा यही चितवनको भूमिमा लोकतन्त्रको पक्षमा आवाज उठाएकै कारण ५० जनाको हत्या गरिएको उल्लेख गर्दै आजको राजनीतिक उपलब्धि ती संघर्ष र बलिदानकै परिणाम भएको बताउनुभयो।
थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण भएको भन्दै त्यसलाई सही ढंगले उपयोग गर्नुपर्ने बताउनुभयो। विगतमा पनि नयाँ राजनीतिक शक्तिहरूले ठूलो जनमत प्राप्त गरे पनि नेतृत्वबीचको विवाद र उन्मादका कारण असफल भएको स्मरण गराउँदै उहाँले रास्वपालाई त्यस्ता कमजोरीबाट बच्न सुझाव दिनुभयो।
“रास्वपामा विवाद र उन्माद नदेखियोस्,” उहाँले भन्नुभयो, “त्यसको क्षति रास्वपालाई मात्रै होइन, देश, जनता र लोकतन्त्रलाई पनि पर्छ।”
रास्वपाको सफलताको प्रशंसा गर्दै उहाँले सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह निर्विरोध चयन हुन लागेको जानकारी पाउँदा आफू खुसी भएको बताउनुभयो। लोकतन्त्र र विधिको शासनलाई व्यवहारमा उतार्नुपर्ने आधारभूत मूल्य भएको उल्लेख गर्दै उहाँले रास्वपाले त्यसलाई मन, वचन र कर्ममा आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो।
थापाले नेपाली कांग्रेस र रास्वपा प्रतिस्पर्धी भए पनि दुश्मन नभएको स्पष्ट पार्दै कांग्रेस आफ्नै क्षमता र कार्यसम्पादनका आधारमा अघि बढ्न चाहेको बताउनुभयो। “हामी तपाईँहरूको खुट्टा काटेर होइन, आफ्नै खुट्टा बढाएर अग्लो बन्न चाहन्छौँ,” उहाँले भन्नुभयो।
रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरे कांग्रेसले खुला समर्थन गर्ने र कमजोरी देखिए खबरदारी गर्न पछि नहट्ने पनि उहाँले बताउनुभयो। कानुनअनुसार हुने कारबाहीको समर्थन गर्ने तर प्रतिशोधको राजनीति स्वीकार्य नहुने उहाँको भनाइ थियो।
कांग्रेसका विगतका कमजोरी स्वीकार गर्दै थापाले आफूहरूले गल्ती सुधार्ने प्रयास गरेको र आवश्यक पर्दा पार्टीभित्रै संघर्षसमेत गरेको बताउनुभयो। उहाँले रास्वपाका नेता तथा कार्यकर्तालाई पनि आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध बोल्न आग्रह गर्नुभयो।
“पार्टीभित्रको गलत कामको विरोध गर्न नसक्नेले सुशासन दिन सक्दैन,” उहाँले भन्नुभयो, “आफ्नै नेताले गल्ती गर्दा पनि प्रश्न गर्न सक्नुपर्छ।”
उहाँले विगतका केही कमजोरीका लागि आत्मग्लानी हुने गरेको उल्लेख गर्दै विगतबाट सिकेर अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिनुभयो। साथै, विगतका संघर्ष र उपलब्धिलाई अवमूल्यन नगर्न पनि आग्रह गर्नुभयो।
थापाले अन्त्यमा नेपाली कांग्रेसले जहाँ विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्य मिचिन्छ, त्यहाँ सधैँ प्रश्न उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

