काठमाडौँ- बुधबार बिहान नेपालको रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूलाई राहत तथा उद्धार गर्ने कार्यलाई तीव्र पारिएको छ।
रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेका छन्। बाढीले बगाएका मानिस र शवहरू नदीमा बगेको भन्दा जमिन तथा खोल्साखोल्सीमा अड्किएका धेरै भेटिएका छन्। हालसम्म २ सय ५८ जनाको शव फेला परेको विवरण प्राप्त भएको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि बढी प्रभावित क्षेत्रमा ७ हजार ४ सय १५ जना सुरक्षाकर्मी परिचालन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका रामबहादुर केसीले जानकारी दिनुभयो।
प्रभावित क्षेत्रमा १०–१२ वटा हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य जारी राखिएको छ। प्रभावितहरूलाई सेनाको ब्यारेक, तालिम केन्द्र लगायतका सुरक्षित स्थानमा राख्ने काम भएको छ। क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
राति पनि सेनाको खोजी कार्य , खोल्साखोल्सीमा अड्किएकाहरूको उद्धार
गएको रातभर उद्धार एवम् खोजी जारी राखेको नेपाली सेनाले अहिले जीवित मानिसको उद्धारलाई प्राथमिकता दिएको र जमिनमा पुरिएका तथा खोल्साखोल्सीमा अड्किएकाहरूको उद्धार जारी राखेको छ। यो समाचार तयार पार्दासम्म प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट ६ देशका ४५ विदेशीसहित उनीहरूलाई उद्धार गरिएको हो। पर्यटन बोर्डका अनुसार बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन रहेका छन्। नेपाली पर्यटक १२७ जना रहेका छन्। अमेरिकी पर्यटक ६५ जना र युक्रेनका ५३ पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ। मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक बेपत्ता रहेको तथ्यांक छ।
पीडितहरूलाई सेल्टर र राहतको व्यवस्था गर्दै रेडक्रस लगायतका संघसंस्था
पीडितहरूको राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरू प्रभावित क्षेत्रमा खटिएका छन्। नुवाकोटको विदुर–५ को अति प्रभावित क्षेत्रमा उद्धारमा खटिएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीले महाविपत्तिले निम्त्याएको विनाशले अकल्पनीय क्षति भएको बताउनुभयो।
“हामीसँग सम्पर्कमा रहनुभएका प्रभावित क्षेत्रका सात सय घरधुरी परिवारले आफूले घरबाट केही पनि लत्ताकपडा, अन्नपात निकाल्न नपाएको र आफन्तजनहरू हेर्दाहेर्दै बगाएको, घर बाढीले पुरेको बताउनुभएको छ। रेडक्रसले ५–६ वटा सेल्टर बनाएर पीडितलाई खाना खुवाउने, आधारभूत सामग्री वितरण गरेका छौँ। १५ सयभन्दा बढी प्रभावितहरूलाई सेल्टर दिएर राखेका छौँ,” डा. भण्डारीले भन्नुभयो।
भण्डारीका अनुसार नुवाकोटमा उद्धार तथा राहतलाई तीव्रता दिए पनि सडक सम्पर्क विच्छेदका कारण बाढीको इपिसेन्टर मानिएको रसुवा जिल्लामा भने राहत तथा उद्धारको कार्यलाई तीव्र बनाउन नसकिएको अवस्था छ।
“स्थानीय साथीहरू राहत उद्धारमा खटिनुभएको छ। हवाई मात्र विकल्प रहेकाले त्यहाँ पर्याप्त उद्धार तथा राहत सामग्री पठाउन सकिएको छैन। सडक खुलाउने काम भएकाले आशा गरौँ, बेलुकासम्ममा त्यहाँ पनि राहत सामग्रीसहित पुग्ने अवस्था रहने छ,” भण्डारीले भन्नुभयो।
हराएका मानिस जीवितै भेटिन्छन् कि भन्ने आशामा छौँ : पीडित
बाढीपीडितहरू तत्काल राहतको चिन्ताभन्दा पनि हराएका आफन्तजनहरू भेटिन्छन् कि भन्ने आशामा छन्।
“घर, खेत, सम्पत्ति त केही बाँकी रहेन। हराएका आफन्तजनहरू जीवितै भेटिए हुन्थ्यो,” नुवाकोट विदुर–१, ढुङ्गेबजारका बाढीपीडित नवराज उप्रेतीले भने।
“तीन जना बालबच्चासहित हामी बूढाबूढी त भागेर बच्यौँ। आफन्तको घरमा बसेका छौँ। मेरो काका–काकी र उहाँहरूका बालबच्चासहित चार जना बाढीमा बेपत्ता हुनुहुन्छ। मलाई राहतभन्दा पनि आफन्तजनको खोजी तीव्र बनाउनुपर्यो,” उप्रेतीले भन्नुभयो।
रसुवामा खोजी तथा उद्धार प्राथमिकतामा र नुवाकोटमा राहत र उपचार
सडक सम्पर्क विच्छेद हुँदा रसुवा जिल्लामा हेलिकोप्टरमार्फत उद्धार र खोजी कार्य जारी राखिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका दर्जनौँ हेलिकोप्टर परिचालन भएका छन्।
घाइतेहरूको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोली परिचालन भएका छन्।
रेडक्रस, उद्योग वाणिज्य संघ लगायत स्थानीय संघसंस्थाहरूले बाढी प्रभावितका लागि नेपाली सेनाका ब्यारेकमा अस्थायी आवास, भोजन, खानेपानी तथा औषधिको व्यवस्था जारी राखेका छन्। ती ठाउँमा राहत सामग्री र मेडिकल सामग्री पुर्याइएको छ।
बेपत्ता भएकाहरूको फोटो बोकेर शवगृह बाहिर आफन्तजन
रसुवा र नुवाकोटमा बाढीमा हराइरहेकाहरूको अधिकांश शव चितवनको नारायणी नदी किनारमा भेटिएका छन्। चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोस्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ।
बेपत्ता भएकाहरूको फोटो बोकेर आफन्तजनहरू शवगृह बाहिर कुरेर बसेका छन्। रसुवाबाट बगेर आएको शव चितवनमा भेटिने आशामा उनीहरू अस्पतालको ‘पोस्टमार्टम घर’ आइपुगेका हुन्।

