
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई यो दुखको समयमा सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
यूएईको विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालमा हालै आएको बाढी र पहिरोका कारण भएको जनधनको व्यापक क्षति, सयौँ व्यक्तिको मृत्यु, घाइते तथा बेपत्ता भएको दुखद घटनाप्रति गहिरो ऐक्यबद्धता प्रकट गरेको हो ।
युएईले यस विपत्तिको समयमा नेपाल र नेपाली जनताको साथमा रहेको पनि जनाएको छ।
विज्ञप्तिमार्फत युएईले यस दुःखद् घडीमा पीडित परिवार, नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दै घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपालको एक प्रमुख श्रम गन्तव्यसमेत रहेको नेपालको मित्र राष्ट्र युएईले नेपालको विकास निर्माण तथा विपद्का समयमा विगत लामो समयदेखि साथ दिँदै आइरहेको छ ।।

