एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ । केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइनुभएको छ भने उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ ।
फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन सुरुमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध केन्द्रित भएको थियो । प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति र सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीका लागि यो पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबपछि महत्त्वपूर्ण निर्णय परिवर्तन गर्नुपरेको दोस्रो घटना हो । यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उहाँले आलोचनाको सामना गर्नुभएको थियो ।
नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उहाँको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याएको सङ्केत दिएको छ ।
किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उहाँको नियुक्तिले सेनाको मनोबल बढाउन तथा लडाकू क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।
पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीबीचको कार्यशैलीलाई ‘फरक ग्रहका व्यक्ति’ जस्तै रहेको टिप्पणी गरेका छन् । फेडोरोभले प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिलाई प्राथमिकता दिनुभएको थियो भने सिर्स्की परम्परागत स्थल–सैन्य रणनीतिमा जोड दिने पक्षमा रहनुभएको बताइएको छ । विश्लेषकहरूका अनुसार द्रापाती यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्वका रूपमा उदाउनुभएको छ ।
सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना र सीमित भूभागका लागि सैनिकको अत्यधिक क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । विशेषगरी ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका आरोप सार्वजनिक भएपछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती आरोपपछि अनुसन्धान सुरु भई सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।
कतिपय सांसद र विश्लेषकले यो घटनालाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक दबाबपछि राष्ट्रपतिले निर्णय पुनरावलोकन गर्नु जनमतप्रतिको उत्तरदायित्वको सङ्केत हो । तर केहीले भने सार्वजनिक दबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन् ।
युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकले चुनाव स्थगित भएका अवस्थामा नागरिकका लागि विरोध प्रदर्शन नै आफ्नो आवाज सुनाउने प्रमुख माध्यम बनेको बताउनुभयो । उहाँका अनुसार सरकारले जनअसन्तुष्टि सडकमा पुग्नुअघि नै सम्बोधन गर्नुपर्ने थियो ।।


