Tuesday, 27 October 2026
ब्रेकिङ
समाचार

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ–  भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ ।

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।

सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन् ।

कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा-सलेरीखण्ड, सोलुखोला नजिकलगायत खण्डमा पनि अवरुद्ध भएका छन् । सो खण्डमा सडक भासिएकाले एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरेर सञ्चालन ल्याउने प्रयास भइरहेको छ ।

मध्यपहाडी राजमार्गको पनि निसी गाउँपालिका-कानाबगरलगायत खण्ड पनि अवरुद्ध भएको छ । सो खण्डमा लेदोसहितको पहिरो आउने क्रम पनि जारी छ । त्यसैगरी, कालीगण्डकी करिडोरको पनि जैमिनी नगरपलिका-८ बेलबगर सडक पनि अवरुद्ध छ । सो खण्डमा ठूलो प्रकृतिको पहिरो गएकाले पनि हटाउने कार्य भइरहेको सडक विभागले जनाएको छ । त्यसैगरी, बाग्लुङ-बेनी राजमार्ग खण्डको पनि म्यादी, हुलाकेलगायत खण्ड पनि सडक अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार तमोर कोरिडोरको छरुवाखोला, नावाखोला, रानीगाउँलगायत खण्डमा पनि सडक अवरुद्ध छ । राप्ती राजमार्गको पनि कपुरकोट-खारखोला खण्डको सडक अवरुद्ध छ । कर्णाली राजमार्गको गगनेखोला, नाग्म-जुम्लाको राँका क्षेत्र-बाङ्गेसिमल-दहीखोला तथा हारे नजिक खण्ड पनि अवरुद्ध छ । भालुवाङ-चकचके-लिवाङ सडकखण्डको पनि विभिन्न क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।

Source link

तपाईंको प्रतिक्रिया