तेह्रथुम, ५ असोजः रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् । बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उहाँले व्यावसायिक सागसब्जी खेती गर्दै आउनुभएको छ । टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी र विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आउनुभएकी तुलसालाई बिहान ४ः०० बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन ।
“आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ”, बुढाथोकी भन्नुहुन्छ, “ढङ्ग पु¥याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती ।”
उहाँको परिवारका अन्य सदस्य पनि खाली हुनुहुन्न । श्रीमान् सरकारी सेवामा हुनुहुन्छ भने ससुरा पनि सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुनुहुन्छ । खनालको परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आएको छ । धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आउनुभएको छ भने तुलसाले मुख्य रुपमा सागसब्जी खेतीको व्यवस्थापन गर्नुहुन्छ । श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका सागसब्जी खेतीमा सहयोग गर्नुहुन्छ ।
सागसब्जी खेतीका लागि दुई जना गाउँकै महिलालाई स्थायी कामदारका रुपमा जिम्मेवारी दिइएको छ । उहाँहरुलाई मासिक रु १८ हजार पारिश्रमिक दिने गरिएको छ । कामको चापअनुसार थप श्रमिक पनि बोलाउने गरिएको छ ।
त्यस्तै, बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक रु ५०० देखि रु एक हजार ५०० सम्म दिने गरिएको तुलसा बताउनुहुन्छ । बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गर्नुभएको थियो । सृजनशील कृषि फर्म दर्ता गरी सञ्चालन गर्दे आउनुभएको उहाँले विसं २०७६ मा प्रदेश सरकारबाट रु पाँच लाख अनुदान प्राप्त गर्नुभयो । त्यसपछि थप टनेल विस्तार गरी ५० वटा पुर्याएको उहाँले बताउनुभयो ।
“सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ”, उहाँले भन्नुभयो, “यहाँबाट भएको कमाईलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ ।” हटियामा एक पटकमा रु १० हजारदेखि रु ४० हजारसम्मको सागसब्जी बिक्री हुने गरेको तुलसा बताउनुहुन्छ । उहाँले हप्तामा दुई पटक सागसब्जी बजारमा बिक्रीका लागि लैजाने गर्नुहुन्छ ।
विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उहाँको अनुभव छ । कामदारको पारिश्रमिक, मल, बीउलगायतका खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्नुहुन्थ्यो । विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उहाँ विदेशको दुःख र सङ्घर्ष देखेपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किनुभएको थियो । त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए । विसं २०७० सालयता उहाँका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाल्नुभयो भने तुलसाले सागसब्जी खेतीलाई थप विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न थाल्नुभयो ।
सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको छ । म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरिएको छ । छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । छोराछोरीको शैक्षिक खर्चमा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसा बताउनुहुन्छ । “सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ ।
म्याङलुङ बजारको टुँडिखेलमा लाग्ने मङ्गलबार र शुक्रबारको हटियाका लागि उहाँको टोलबाट मात्रै दुई वटा ट््याक्टरमा सागसब्जी जाने गरेको छ । विगतमा डोकोमा बोकेर बजार पुर्याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि सागसब्जी बजारसम्म पुर्याउन सहज भएको उहाँ बताउनुहुन्छ ।
बिहान ४ः०० बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा हटाउने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्र नभएर परिवारको भविष्य निर्माण गर्ने आधार पनि बनेको छ । तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने होइन, आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके अवसरका ढोका खोल्न सकिन्छ भन्ने देखाएको छ ।
उहाँको सफलताले गाउँमा बाझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ । “आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ”, खनाल भन्नुहुन्छ, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ ।”

