
डोटी- डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बिहीबार दिउँसो डोटीको केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा वायलबाट देउरडीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ८६८४ नम्बरको अटो दुर्घटना भएको हो।
प्रहरीका अनुसार केआईसिंह गाउँपालिका–३ बासुदेवीका करिब २४ वर्षीय दिपेन्द्र बमले चलाएको अटोको ब्रेक फेल भई सडकको दायाँतर्फको नालीमा पल्टिएको थियो।
दुर्घटनामा परी अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये केआईसिंह गाउँपालिका–३ डल्लाकी ५५ वर्षीया लछु ऐरको उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभएको छ।
दुर्घटनामा केआईसिंह गाउँपालिका–२ देउगडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वडा नं. ३ बासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, वडा नं. ३ डल्लाकी १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि महाकाली अस्पताल, राजपुर डोटी ल्याइएको प्रहरीले जनाएको छ।।

