
काठमाडौँ- शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दिर्घरोग पार्किन्सन्सबाट पिडित धौभडेलको क्यानडाको क्यालगरीमा मृत्यु भएको हो ।
उहाँ त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष सेवा गर्दै प्राध्यापक, क्याम्पस प्रमुखदेखि डिन र सेरिडको कार्यकारी निर्देशक समेत रहनुभएको थियो ।
वि.सं. २०५१/०५२ मा भारत र भुटानका लागि नेपाली राजदूत रहनुभएका धौभडेल दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य पनि हुनुहुन्थ्यो ।
२०४६ को जनआन्दोलनमा प्राध्यापक सङ्घको नेतृत्व गर्दै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो ।
उहाँले ‘सेतो गुराँस’ संस्थामार्फत बालबालिकाको शिक्षा र कल्याणमा योगदान पुर्याउनुभएको थियो । उहाँ लामो समयदेखि क्यानामा रहनु भएका छोरीसँग बस्दै आउनु भएको थियो ।

