काठमाडौँ- सुदुरपश्चिममा रहेर गजल साधाना गरिरहनु भएकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ‘सिरानी’ ल्याउनु भएको छ ।
आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन नेपाली गजलका अभियन्ता ज्ञानुवाकर पौडेल, ललिजन रावल लगायतका साहित्यकारहरुले काठमाडौँमा विमोचन गर्नुभयो ।
म मान्छु वचन मेरो रसिलो थिएन
मन तिम्रो पनि त सुकिलो थिएन ।
नारी मनको पीडाका साथै विद्रोह ओकल्ने गजलकारका रूपमा परिचित पल्लवीको सो कृतिमा आठ दर्जन बढी गजल छन् ।
विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले सुदुर पश्चिम गजल विधामा निकै अगाडि रहेको बताउँदै कृतिकार पल्लवी धारिला गजल लेख्नमा पोख्त रहेको दावी गर्नुभयो ।
सभाध्यक्ष वरिष्ठ गजलकार ललिजन रावलले पल्लवीको गजलसिल्प उत्कृष्ट भएकोले समकालीन गजलकारलाई थप चुनौति बढेको बताउनुभयो ।
कृति समीक्षक डा. रमेश शुभेच्छुले सुक्ष्म विषयलाई कलात्मक तरिकाले प्रस्तुति दिनु गजलकारको खुवी भएको तर्क राख्नु भयो ।
अर्का समीक्षक डा. नारायण गैरेले पल्लवीका गजल नारी चेतनाको समन्वयात्मक विद्रोहले भरिएको बताउनु भयो ।
विमोचन समोरोहको आयोजक तथा आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गजल उन्नयनमा अग्रगामी छलाङ मार्ने सुदुरपश्चिमले पल्लवीजस्ता गजलकार पाउनुले अझ सुन्दर भविष्यको ढोका खोलेको बताउनु भयो ।
कृतिकार तारा पल्लवीले धनगढीको गजल महोलले मोहित पारेकोले अफूले पनि पहिलो कृति गजल नै निकालेको र अतिथिहरूको विश्लेषणले थप जिम्मेबारी बोध भएको बताउँनुभयो ।
प्रिया पत्थर साहित्य परिषद् धनगढीकी अध्यक्ष साहित्यकार हेमन्ती जोशीले सुदुर पश्चिमलाई राजधानीले अपार माया दिएको बताउँदै कृतिकारलाई शुभकामना र बधाई दिनु भयो ।
साहित्यकार पार्वती भट्टले कृतिकार पल्लवीको साहित्यिक यात्राका बारेका संक्षेपीकरण दिनुभएको थियो ।।


