
काठमाडौँ– गगनकुमार थापाले गणेश नेपालीको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका साथ लिन आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आज प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
उहाँले अहिलेको आवश्यकता राजनीतिक बहसभन्दा पनि पीडित परिवारलाई साथ र सहयोग गर्नु भएको बताउनुभएको छ। आ–आफ्नो ठाउँबाट परिवारको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ।
थापाले यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनुभएको छ। एउटा युवा किन चरम निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन यति कठोर कदम चाल्न बाध्य हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई पर्याप्त भरोसा दिन किन असफल हुन्छन् भन्ने प्रश्नको इमानदार उत्तर खोज्न आवश्यक रहेको उहाँको भनाइ छ।
समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने उल्लेख गर्दै थापाले भविष्यमा कुनै पनि नागरिकले यस्तो दुःखद बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभएको छ।

