
काठमाडौँ- काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) अन्तर्गतको केयूएसओएम इन्टरप्रेनरशिप क्लब र स्टुडेन्ट्स वेलफेयर काउन्सिलले भोलि (शुक्रबार) संयुक्त रुपमा ‘सीईओ सम्मेलन-२०२६’ आयोजना गर्दैछन ।
भोलि शुक्रबार ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा आयोजना हुने सो सम्मेलन दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ।
‘वर्तमान परिवेशमा परिवर्तनशील हुँदै गएको व्यवसायिक परिदृश्यः व्यवस्थापकीय तथा उद्यमशील चुनौतीहरू’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलनमा नेपालका नीति निर्माता, उद्योगी-व्यवसायी, उद्यमी, बैंक तथा वित्तीय क्षेत्रका नेतृत्व, शिक्षाविद् तथा विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट रहनेछन् भने एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलन अन्तर्गत आयोजना हुने विशेष प्यानल छलफलमा लामिनार टाइल्सका निर्देशक अभिनव चुरिवाल, निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगारिया, नेपाल महिला उद्यमी महासंघ (FWEAN) की अध्यक्ष दर्शना श्रेष्ठ, एनआईएमबी एस क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत (DCEO) सचिन्द्र ढुङ्गाना तथा सिमेक्स इन्क. प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) साहिल श्रेष्ठ सहभागी हुनेछन्।
साथै, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका भिजिटिङ फ्याकल्टी डा. सिद्धार्थ मैनालीले नेपालको वर्तमान व्यवसायिक वातावरण, नीति तथा आर्थिक अवस्थाबारे अनुसन्धानमा आधारित प्रस्तुति दिने कार्यक्रम रहेको छ।।

