चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी हुनुभएको छ । उहाँले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गर्नुभएको हो ।
उहाँले उपसभापति पदमा ७८९ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाउनुभएको थियो । यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ६७३ मत पाउनुभएको छ ।
सोही पदमा उम्मेदवारी दिनुभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाउनुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ । शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित हुनुभएको हो ।
सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गर्नुभएको छ ।
एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ । सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गर्नुभएको छ ।
यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो ।
वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह हुनुभएको छ । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित हुनुभएको हो ।

