नाकाबन्दीका थप शिथिल बन्दै इरान

नाकाबन्दीका थप शिथिल बन्दै इरान

एजेन्सी- इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप चुलिएको हो । यही क्रममा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको थियो । पुटिनले अमेरिका र इजरायलले फेरि इरानमाथि युद्ध चर्काए ‘हानिकारक परिणाम’ आउने चेतावनी दिनुभएको बताइएको छ ।

तेल उद्योगसँग सम्बन्धित अधिकारीहरूसँगको भेटमा ट्रम्पले इरानी बन्दरगाहहरूको नाकाबन्दीलाई निर्णायक कदमका रूपमा व्याख्या गर्नुभयो । तेहरानले कुनै पनि सम्झौताअघि उक्त नाकाबन्दी हटाउन माग गरिरहेको छ । तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार नाकाबन्दी उल्लङ्घन गर्ने प्रयासमा रहेका ४२औँ व्यापारिक जहाजलाई समेत फर्काउन सफल भएको छ । यसबाट करिब छ अर्ब डलर बराबरको छ करोड ९० लाख ब्यारेल तेल बजारमा आउन नपाएको दाबी गरिएको छ ।

युद्धको प्रभाव अमेरिकी आन्तरिक राजनीतिमा पनि देखिन थालेको छ । यो सङ्घर्ष आम मतदातामाझ लोकप्रिय नभएकाले ट्रम्पमाथि युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढ्दो छ । साथै, तेलको मूल्य वृद्धि हुँदा अमेरिकी उपभोक्ताको खर्च बढेको छ भने अमेरिकी सहयोगी देशहरू पनि असुरक्षामा परेका छन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले विश्वव्यापी तेल आपूर्ति सन्तुलनमा राख्ने उपायहरूबारे छलफल गर्दै आवश्यक परे नाकाबन्दी लामो समयसम्म कायम राख्ने तयारी गरेको छ । ट्रम्पले एक अन्तर्वार्तामा इरानमाथि दबाब तीव्र रूपमा बढिरहेको बताउँदै आगामी दिनमा थप कडा कदम चालिने सङ्केत दिनुभएको छ ।

यसबीच, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ । अमेरिकी बेन्चमार्क ब्रेन्ट तेलको मूल्य १२२.५३ डलरसम्म पुगेपछि हाल करिब १२० डलरमा स्थिर भएको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट करिब १०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

इरानले आफ्नो रणनीतिक स्थानहर्मुज जलघाँटीमार्फत प्रतिकारको सङ्केत दिएको छ । विश्वको करिब पाँचौँ भाग तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रणले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ ।

युरोपेली मोर्चामा पनि मतभेद देखिएका छन् । जर्मनीले इरानविरुद्धको युद्धमा प्रत्यक्ष समर्थन गर्न वा शान्ति सेनामा योगदान दिन अस्वीकार गरेपछि ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिक सङ्ख्या घटाउने चेतावनी दिनुभएको छ । जर्मन नेतृत्वले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको छ ।

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय प्रक्रियामा अन्योल देखिएको छ ।

युद्धको मानवीय असर पनि गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले चेतावनी दिँदै युद्ध र त्यसबाट बढेको मलको मूल्यका कारण १६० देशका तीन करोडभन्दा बढी मानिस गरिबीमा धकेलिन सक्ने जनाएको छ । संस्थाका प्रमुखले यस अवस्थालाई ‘उल्टो विकास’ को सङ्केत भन्नुभएको छ ।

इरानभित्र आर्थिक सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय मुद्रा रियाल डलरको तुलनामा ऐतिहासिक न्यून विन्दुमा झरेको छ । तेहरानका सर्वसाधारणले विगतका वार्ताहरूले जीवनस्तर सुधार्न नसकेको गुनासो गरेका छन् । एक स्थानीय बासिन्दाका अनुसार, हरेक वार्तापछि जनताको आर्थिक अवस्था थप बिग्रिएको अनुभव छ ।

यसैबीच, इरानले अमेरिकी नाकाबन्दी हटाएपछि मात्र हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण खुकुलो पार्ने प्रस्ताव गरेको छ । तर वासिङ्टनले उक्त प्रस्तावप्रति अविश्वास प्रकट गरेको छ ।

क्षेत्रीय तनाव अझै कम भएको छैन । इजरायल र इरान समर्थित समूहहरूबीचको द्वन्द्वका कारण लेबनानमा पनि हिंसा जारी छ । युद्धविराम विस्तार भए पनि इजरायली आक्रमणहरू रोकिएका छैनन् । हालैका आक्रमणहरूमा लेबनानी सैनिकहरू घाइते र एक जनाको मृत्यु भएको बताइएको छ ।

लेबनानका राष्ट्रपतिले स्थायी शान्तिका लागि वार्ता नै एकमात्र उपाय भएको उल्लेख गर्दै युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । तर निरन्तर हिंसाले मानवीय सङ्कट गहिरिँदै गएको छ, जहाँ १२ लाखभन्दा बढी मानिस भोकमरीको जोखिममा पर्ने आँकलन गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह