
काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसबीच शिष्टचार भेतवार्ता भएको छ । बुधबार (वैशाख ३ ) भएको भेटघाटमा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको हो ।
मन्त्री चौधरीले अब देखी दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्धेश्यले ५ तारे होटलमा कार्यक्रम नरख्नी, लक्षित सामुदायिक र क्षेत्रमा नै सो रकम लगानी गर्नुपर्ने बताउनुभयो ।छलफलका क्रममा मन्त्री चौधरीले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।
हाल सञ्चालनमा रहेका उच्च मूल्य कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरुको विषयमा समेत छलफल भएको थियो ।यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिहरू सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौतीहरू समाधान गर्नुपर्ने छलफल भएको हो ।
यसका साथै बीउबिजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रुत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताउनु भयो ।सो अवसरमा एडीबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक लिएको सो छलफलमा मन्त्री चौधरीले उल्लेख गर्नुभयो । उक्त छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ ।
यसैगरी, भू–जल पुनर्भरण, अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा पनि छलफल भएको थियो ।

