जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

सिरहा- बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्नुहुन्थ्यो, अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उहाँले परम्परागत खेती प्रणालीलाई त्यागेर ‘जलवायुमैत्री कृषि’ अपनाउनुभएको छ ।

“पहिले पानी नपर्दा मल र बीउको लगानी पनि उठ्दैनथ्यो”, आफ्नो अनुभव सुनाउँदै मण्डल भन्नुहुन्छ, “हाल मल्चिङ प्रविधि र थोपा सिँचाइ सुरु गरेपछि कम पानीमा पनि लटरम्म तरकारी फलेको छ । खेती गर्ने तरिका फेर्दा आम्दानी मात्र होइन, मनमा शान्ति पनि मिलेको छ ।”

मण्डल परिवार तरकारी खेतीको आम्दानीबाट जीविका चलाउँदै आएको छ । विगत छ महिनादेखि प्लास्टिक घर, थोपा सिँचाइ, गँड्यौला मल, झोल मल, कीरा नियन्त्रणका लागि आवश्यक जानकारी लिई तरकारीखेती गर्दा केही सहज भएको उहाँको भनाइ छ । मण्डल भन्नुहुन्छ, “रसायनिक मल पहिलादेखि नै न्यूनीकरण गर्दै लगेका थियौँ । एक त भनेको समयमा नपाइने, पाए तापनि माटोको उर्वराशक्ति ह्रास गर्ने र उत्पादन पनि घट्ने । जैविक मलको प्रयोगले मानव स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले यसको उपयोग गर्न थालेका छौँ ।”

मण्डल परिवारले करिब साढे दुई कट्ठा जग्गाबाट पछिल्लो छ महिनामा मात्रै काउली खेतीबाट रु ४० हजार, टमाटरबाट रु ५० हजार, च्याउबाट रु २० हजार र सागसब्जीबाट रु नौ हजार आम्दानी गरिसकेको छ । उहाँले खेतीलाई वातावरण अनुकूल बनाउन तापक्रम नियन्त्रण गर्ने टनेल हाउस र सिँचाइका लागि सोलार प्रणाली जडान गरी लाभ लिइरहेको सुनाउनुभयो ।

परिवर्तित खेती प्रणालीको सफलताले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत स्वदेशमै भविष्य देखाएको छ । धनगढीमाई नगरपालिका–१० की अनिता महतोले यही सिजनमा तीन कट्ठामा लगाएको काउली बेचेर रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँको यो प्रगति देखेपछि वैदेशिक रोजगारीमा रहनुभएका श्रीमान् जागेश्वर महतो घर फर्किएर कृषिमा साथ दिइरहनुभएको छ ।

जागेश्वर भन्नुहुन्छ, “बिजुलीको झन्झट छैन, इन्धनको खर्च जोगिएको छ । घाम लागेसम्म पानीको चिन्ता हुँदैन । प्लास्टिकको घर (टनेल) भित्र गरिएको खेतीले असिना र अत्यधिक तापक्रमबाट बाली जोगाएको छ । यसले परिवारको आम्दानी मात्र होइन, आत्मनिर्भरता पनि बढाएको छ ।”

आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले जलवायुमैत्री गाउँ परियोजनामार्फत सहयोग गरिरहेको छ । ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले किसानलाई पाठशाला सञ्चालन गर्नेदेखि कृषि सामग्री उपलब्ध गराउनेसम्मका काम गरिरहेको संस्थाका लक्ष्मीपुर पतारीका ‘फिल्ड सुपरीवेक्षक’ उमेश नन्दन चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई माटो बचाउँदै खेती गर्ने प्रणालीबारे सिकाइएको छ । पालिकाका छमध्ये पाँच वटा वडामा महिला कृषक समूह गठन गरी गोठ सुधार कार्यक्रम, गँड्यौला मल उत्पादन तथा बोरिङ, फोहोरा सिँचाइ, आधुनिक चुलो र जलवायुमैत्री बीउबिजन वितरण गरिएको छ ।

यस्तै, धनगढीमाई नगरपालिकाका क्षेत्रगत सुपरिवेक्षक रबिन साहले पनि नमूना किसान समूह निर्माण गरी किसानलाई यस प्रविधितर्फ आकर्षित गरिएको जानकारी दिनुभयो ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । यी छ वटा पालिकामा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“हरित गृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्ने र महिलाको कार्यबोझ कम गर्दै क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उद्देश्य हो”, थापा भन्नुहुन्छ, “यस प्रदेशमा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्न हामीले ७० प्रतिशत संस्थाको र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा काम गरिरहेका छौँ । यसले किसानमा अपनत्वको बोध पनि गराइरहेको छ ।”

उहाँका अनुसार, हालसम्म यी पालिकाहरूमा ५१८ घरधुरी लाभान्वित हुने गरी ९३ वटा भूमिगत सिँचाइ प्रणाली (बोरिङ) जडान गरिएका छन् भने ५०० वटा महिला समूह क्रियाशील छन् ।

उत्पादनको बजारीकरणका लागि पनि यहाँ योजनाबद्ध रूपमा काम भइरहेको छ । हाल सिरहाको लक्ष्मीपुर पतारीमा कृषक समूहले मानकीदेवी मोची र गीतादेवी मण्डललाई तरकारी बिक्रीको जिम्मा दिएर उत्पादनको उचित बजार र मूल्यका लागि प्रयास गरिएको छ । “उपभोक्ताले ढुक्कसँग अग्र्यानिक तरकारी किन्न पाएका छन् । फलानो ठाउँको तरकारी भनेपछि अहिले सबैले रासायनिक मल र विषादी नहालेको भनेर चिनिहाल्छन्”, परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।

उहाँका अनुसार जलवायुमैत्री कृषि प्रणालीले मुख्यतया तीनवटा कुरामा जोड दिन्छः पानीको उचित व्यवस्थापन, माटोको स्वास्थ्य सुधार र अनुकूलित बीउको प्रयोग । थापा भन्नुहुन्छ, “यो प्रणाली अपनाउँदा उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घट्छ र प्रतिकूल मौसममा पनि उत्पादनलाई स्थिर बनाउन मद्दत पुग्छ ।”

जलवायुमैत्री कृषिको महत्त्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारले भर्खरै सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समेत माटोमा कार्बन बढाउने विषयलाई समेटेको छ । माटोमा कार्बनको सञ्चिति बढ्दा पोषक तत्वहरूको चुहावट कम हुने, सिँचाइपछि लामो समयसम्म चिस्यान कायम रहने र जराको फैलावटमा वृद्धि हुने गरेको जानकारहरू बताउँछन् । यसले माटोमा हावाको सञ्चार राम्रो बनाउनाका साथै सूक्ष्म जीवहरूको सङ्ख्या बढाई पारिस्थितिकीय प्रणालीमा खाद्य चक्र सन्तुलन राख्छ, जसले अन्ततः माटोको भौतिक, रासायनिक र जैविक गुणमा सुधार ल्याई जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउने गरेको सुपरिवेक्षक साहले बताउनुभयो ।

खडेरी र कीराको प्रकोप जस्ता समस्या झेल्दै आएका यहाँका किसानका लागि ‘जलवायुमैत्री कृषि’ पद्धति ‘वरदान’ साबित हुँदै गएको छ । यद्यपि, सबै किसानसम्म यी प्रविधि पुगेका छैनन् । अग्रणी किसानको सफलताले अन्य कृषकलाई पनि यसतर्फ लाग्न प्रेरित भने गरिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन