टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने

काठमाडौँ- ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ ।

टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समितिका सहसंयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

चैत मसान्तबाटै सुरु हुने बिस्का जात्रा मुख्यतः चार दिने मनाइने गरिन्छ । भक्तजन मसान्तको बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जान्छन् । बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ ।

सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् । मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’का रूपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् ।

नयाँ वर्षकै दिन साँझ ६ बजे आ–आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको छ ।

वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ ।

सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

आगामी वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ः३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रममा गरी आ–आफ्नो देवी घरघरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा विर्सजन हुन्छ ।

सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाभित्रका ऐतिहासिक पर्वलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले टोखाको जात्रा व्यवस्थापनका लागि नगरपालिकाले वजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

टोखाले जात्राका अवसरमा एकदिन टोखा नगरपालिकाभर र दुई दिन जात्रा लाग्ने वडा नं २ र ३ मा विदा दिने गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन