सारङ्गीको धुनमा गुजारा – सार्वजनिक सेवा प्रसारण संस्था

सारङ्गीको धुनमा गुजारा – सार्वजनिक सेवा प्रसारण संस्था

दमौली (तनहुँ)- बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्नुहुन्छ । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताउनुभएको छ ।

वर्षौँदेखि उहाँहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने । बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उहाँहरू सारङ्गी बजाएर लोकगीत गाउनुहुन्छ । उहाँहरूको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ ।

यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो । “कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ”, लोकबहादुरले भन्नुभयो । उहाँका अनुसार दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन ।

उहाँहरुका चार जना छोराछोरी छन् । उहाँहरूले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन् । “आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो”, डल्ली गन्धर्व भन्नुहुन्छ । उहाँहरु गीत गाउँदै देशका विभिन्न जिल्ला पुगिसक्नुभएको छ । पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उहाँहरूको जीवन बितेको छ ।

आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ । नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउनुहुन्छ । “यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । गन्धर्व दम्पतीको कथा केवल जीविकोपार्जनको कथामात्र होइन, यो सङ्घर्ष, आत्मसम्मान र सांस्कृतिक संरक्षणको कथा पनि हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव