Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

सार्वजनिक सेवा प्रसारण नेपालको निर्वाचन लक्षित आन्तरिक आचारसंहिता जारी

सार्वजनिक सेवा प्रसारण नेपालको निर्वाचन लक्षित आन्तरिक आचारसंहिता जारी

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै “सार्वजनिक सेवा प्रसारण नेपाल, निर्वाचन आचारसंहिता-२०८२” जारी गरेको छ।

आचारसंहिता २०८२ साल  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले लागू गरिएको हो।

सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिको आजको बैठकबाट स्वीकृत आचारसंहिता सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतका रेडियो नेपाल, नेपाल टेलिभिजन, अनलाइन तथा डिजिटल प्लेटफर्ममा कार्यरत सञ्चारकर्मी र कर्मचारीहरुलाई लागू हुनेछ।

आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी समाचार, विचार, विश्लेषण तथा कार्यक्रम उत्पादन, प्रकाशन र प्रसारण गर्दा नेपालको संविधानद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य-मान्यता, निष्पक्षता, तटस्थता, सन्तुलन र सत्यतामा आधारित पत्रकारिता अभ्यास गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, अनुमानमा आधारित वा अतिरञ्जित सामग्री, कुनै राजनीतिक दल वा उम्मेदवारको विजय-पराजयको पूर्वानुमान, मतदानपूर्वको सर्वेक्षणजस्ता सामग्री उत्पादन तथा प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्ने, समर्थन वा विरोध जनाउने अभिव्यक्ति खुला रूपमा प्रकाशन र प्रसारण गर्न पनि आचारसंहिताले निषेध गरेको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले सबै राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारका गतिविधिहरूलाई सन्तुलित रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।।

Source link

तपाईंको प्रतिक्रिया