
काठमाडौँ– प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।
प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नु पर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्।
सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। अर्थात्, प्रश्नोत्तरमा सत्तारूढ रास्वपाका धेरै सांसदले भाग लिन पाउने छन् ।
यस अघि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश गर्नु भएको थियो ।

