काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको बताउनुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारीसँगको छलफलमा मन्त्री वाग्लेले सरकारको अबको ध्यान उक्त बजेटको कार्यान्वयनमा रहेकाले सहयोग सुझाव दिन आग्रह गर्नुभयो ।
उहाँका अनुसार बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् । मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्री वाग्लेले राय सुझाव माग्नुभएको मन्त्री वाग्लेका स्वकीय सचिवालयले जनाएको छ ।
“हामी सबैको साझा लक्ष्य नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी वृद्धि, उत्पादन विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने हो”, मन्त्री वाग्लेले भन्नुभयो, “वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्त्वपूर्ण सङ्गम हुन् । यहाँ बचतकर्ता आउँछन् । उद्यमी पनि आउँछन्न्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्, त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ ।”
उहाँले सरकारका तर्फबाट आफूहरू नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको जनाउँदै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेको भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
“हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ । बैंकिङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ”, मन्त्री वाग्लेले भन्नुभयो, “सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइनस साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो ।”
उहाँले आपसमा विश्वास निर्माण गरेर लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने रहेको पनि स्पष्ट गर्नुभयो ।


