
काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको विर अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको छ श्र
विहान आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उनले किन आत्मदाहको प्रयास गरे भने खुल्न सकेको छैन । सिराहाका राउत काठमाडौँमा व्यापार व्यवसाय गर्दै आएका थिए ।
यसअघि बिहिबार काठमाडौंको व्यस्त त्रिपुरेश्वर क्षेत्रमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा हिजो साँझ मृत्यु भयो । यसैगरी हिजो नै सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको चिन्ताजनक अवस्थामा हेलिकोप्टर मार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ ।
यसैबीच सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिनका लागि समिति गठन गरेको छ । घटनाको छानबीन गर्न डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरुले नेपालीले आत्मदाह गर्न बाध्य हुनुपर्ने स्थिति आउनु देशको शासन प्रणालीकै लागि ठूलो कमजोरी भएको भन्दै सरकारको जवाफ माग गर्नुभएपछि गृहमन्त्री सुधन गुरुङले यो घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।
राज्यका सबै निकायहरुको आ-आफ्नो जिम्मेवारी र दायित्व हुने भन्नुहुदै मन्त्री गुरुङले एउटा निकायको कमजोरीले समग्र राज्य संरचना माथि प्रश्न उठ्ने स्थिति आउन नदिन सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले घाइते नेपालीको जीवन रक्षकालागि सरकारले सक्दो प्रयास गरेको भएपनि सफल हुन नसकेको बताउनुभयो ।

