बैतडी- बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
धनगढीबाट बैतडी आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस आज (शुक्रबार) साझ पौनै ६ बजेतिर दसरथचन्द नगरपालिका-४ शाहिलेक बजार नजिक छेलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दसरथचन्द नगरपालिका-६ का ३५ बर्षीय बिरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो । अन्य १० जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो ।
घाइते हुनेमा दसरथचन्द नगरपालिका-४ बस्ने २७ बर्षीया लक्ष्मी ऐरी, बर्ष ८ का हेमविक्रम जोशी, ६० बर्षीया पुर्णदेबी जोशी, २२ बर्षीया पुजा कार्की छन् ।

यस्तै दसरथचन्द नगरपालिका- २ देहीमाण्डौँ बस्ने २० बर्षीया लालिता लावड, ३२ बर्षीया जानकी लावड, दसरथचन्द नगरपालिका-८ त्रिपुरा बस्ने बिजय थापा, दसरथचन्द नगरपालिका-६ बस्ने ३० बर्षीया लक्ष्मी साउद, दसरथचन्द नगरपालिका-५ बस्ने ५२ बर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका-९ खोडपे बस्न ३५ बर्षीय कबिराज भट्ट रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । बसमा चालकसहित १२ जना यात्रु थिए ।
चालक पाटन नगरपालिका-८ बस्ने ३७ बर्षीय केशव महरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।।

