
मुस्ताङ – मुस्ताङ जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक उद्घाटन भएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ मा अवस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
चार वटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू सहितको यो दुई तले आधुनिक छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। यस परियोजनाको सफल कार्यान्वयन लोमान्थाङ गाउँपालिका मार्फत गरिएको हो। मुस्ताङको यस लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस विद्यालयले परम्परागत बौद्ध शिक्षाका अतिरिक्त नेपाल सरकारको शैक्षिक प्रणाली र मापदण्ड अनुरूपको गुणस्तरीय पाठ्यक्रम समेत विद्यार्थीहरूलाई प्रदान गर्दै आएको छ।
भवन उद्घाटनका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबिचको साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो। उहाँले परियोजनासँग जोडिएका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना समेत व्यक्त गर्नुभयो।
सोही अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको तर्फबाट प्रदान गरिने विकास सहयोगको उच्च प्रशंसा गर्नुभयो। नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा ठुलो सुधार आउने कुरामा उहाँहरूको जोड थियो ।
नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले देशका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा साना तथा ठुला परियोजनाहरू अघि बढाइसकेको छ। यसमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा मात्रै ६३ वटा परियोजनाहरू रहेका छन्।
विगतका वर्षहरूमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहयोग गरिसकेको छ। यसै गरी समग्र गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई अहिलेसम्म १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ।

