एजेन्सी- अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको जलघाँटी पुनः सञ्चालनतर्फ अघि बढेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म उक्त सामरिक जलमार्ग ‘पूर्ण रूपमा खुला’ हुने बताउनुभएसँगै यसले मध्यपूर्व युद्ध अन्त्यतर्फको सम्झौतापछि ऊर्जा बजारमा आशा जगाएको छ ।
ट्रम्पका अनुसार जहाजहरू पहिले नै हर्मुज हुँदै आवागमन गर्न थालेका छन् र तेलले भरिएका ट्याङ्करहरू सुरक्षित रूपमा क्षेत्र पार गरिरहेका छन् । उहाँले पछि प्रतिक्रिया दिँदै उक्त मार्ग खुला राख्न ‘ठूलो अतिरिक्त सहयोग आवश्यक नपर्ने’ सङ्केत गर्नुभयो ।
तीन महिनासम्म चलेको द्वन्द्वपछि वासिङ्टन र तेहरानबीच भएको सहमतिलाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । फेब्रुअरीको अन्त्यमा इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि उत्पन्न तनावका कारण विश्व बजार अस्थिर बनेको थियो ।
सम्झौताको खबर सार्वजनिक भएसँगै विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । वाल स्ट्रिटको डाउ जोन्स सूचकाङ्क ऐतिहासिक उचाइमा पुगेको छ भने कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ, जसले ऊर्जा आपूर्ति सहज हुने अपेक्षा बढाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार सोमबार साँझ केही तेल ट्याङ्कर र मालवाहक जहाजहरू विवादित जलमार्ग हुँदै अघि बढेका थिए । युद्ध सुरु भएदेखि इरानले हर्मुज मार्ग अवरुद्ध गरेको आरोप लाग्दै आएको थियो, जसले विश्व तेल बजारमा ठूलो मूल्यवृद्धि र आपूर्ति सङ्कटको डर बढाएको थियो ।
यसैबीच, अमेरिका, इरान र मध्यस्थकर्ता पाकिस्तानले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि केही अमेरिकी अधिकारीहरूले कागजातमा इलेक्ट्रोनिक हस्ताक्षर भइसकेको बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा कुनै पनि अमेरिकी करदाताको पैसा इरानमा नजाने स्पष्ट पार्दै यसलाई कूटनीतिक समाधानतर्फको कदमका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँग सहकार्य गरेर इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
इरानका अधिकारीहरूले भने सम्झौतालाई युद्धको ‘तत्काल अन्त्य’ का रूपमा प्रस्तुत गरेका छन् । उपविदेशमन्त्री काजेम घारिबाबादीले दुई महिनाभित्र अन्तिम सम्झौताका लागि थप वार्ता हुने बताउनुभयो । इरानी सेनाले यसलाई ‘विजय’ भन्दै अमेरिकालाई ‘अपमानित’ गरिएको दाबी गरेको छ भने राष्ट्रपति मसुद पेजेस्कियानले यसलाई क्षेत्रीय रूपमा ठूलो उपलब्धि भन्नुभयो ।
तर इरानी विदेशमन्त्री अब्बास अराघचीले विगतका सम्झौता कार्यान्वयन नभएको अनुभव स्मरण गर्दै सावधानी अपनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँका अनुसार विगतका असफल प्रतिबद्धताले अहिलेको विश्वासमा असर पारेको छ ।
सम्झौताका विस्तृत सर्तहरू अझै अस्पष्ट रहेका छन् । इरानले विदेशमा रोकिएको कोष फिर्ता र युद्धका क्षतिको क्षतिपूर्ति मागेको जनाएको छ भने अमेरिकी पक्षले १२ अर्ब डलर बराबरको जफत सम्पत्ति फुकुवा गर्ने चर्चा गरिएको छ ।
उपराष्ट्रपति भान्सले कुनै पनि अमेरिकी रकम इरानमा नगएको स्पष्ट गर्दै संवेदनशील विषयमा कडा निगरानी रहने बताउनुभयो । साथै इरानमा अन्तर्राष्ट्रिय निरीक्षकहरूको प्रवेश अनुमति दिने विषयमा पनि छलफल भइरहेको छ ।
हर्मुज मार्ग पुनः सञ्चालन र सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा अस्थायी स्थिरता ल्याएको भए पनि राजनीतिक विवाद, क्षेत्रीय सुरक्षा चुनौती र आणविक कार्यक्रमसम्बन्धी असमझदारी अझै कायम रहेको विश्लेषकहरूले बताएका छन् ।
इरानभित्र पनि सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही नागरिकले जीवन सामान्यतर्फ फर्कने आशा व्यक्त गरे पनि धेरैले दीर्घकालीन स्थायित्वप्रति शङ्का व्यक्त गरेका छन् ।
इजरायल, लेबनान र गाजासम्म फैलिएको क्षेत्रीय तनावको सन्दर्भमा पनि यो सम्झौता निर्णायक मोड बन्न सक्ने अनुमान गरिएको छ । यद्यपि इजरायली पक्षले आफ्ना सुरक्षा स्वार्थमा सम्झौता नगर्ने सङ्केत दिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले भने हर्मुज मार्ग पुनः खुल्नु र युद्धविरामको सम्भावनाले विश्व ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।।

