किमको दोहोरो सन्देशः धम्की र संवाद

किमको दोहोरो सन्देशः धम्की र संवाद

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिनुभएको छ । तर त्यससँगै उहाँले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि ढोका खुला रहेको सङ्केत पनि दिनुभएको छ । यसले प्योङयाङको रणनीतिमा दबाब र संवाद दुवैलाई समानान्तर अघि बढाउने सन्देश दिएको छ ।

सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनको समापन गर्दै किमले आगामी पाँच वर्षका नीतिगत लक्ष्य सार्वजनिक गर्नुभयो । उहाँले आफ्नो आणविक क्षमता र नयाँ हतियार प्रणाली विकासलाई तीव्र बनाउने घोषणा गर्दै पानीमुनिबाट प्रक्षेपण गर्न सकिने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल, सामरिक आणविक हतियार र छोटो दूरीका क्षेप्यास्त्रहरूको भण्डार विस्तार गर्ने लक्ष्य प्रस्तुत गर्नुभयो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा भएको तीव्र हतियार विकासले उत्तर कोरियाको आणविक राष्ट्रको हैसियत ‘स्थायी रूपमा स्थापित’ गरिसकेको छ ।

यद्यपि किमले अमेरिकाले उत्तरप्रति अपनाएको ‘शत्रुतापूर्ण नीति’ त्यागेमा संवाद सम्भव रहेको बताउनुभयो । “शान्तिपूर्ण सहअस्तित्व होस् वा स्थायी द्वन्द्व, हामी दुवैका लागि तयार छौँ”, उहाँले भन्नुभयो, “छनोट अमेरिकाको हातमा छ ।” उत्तर कोरियाले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र आणविक निशस्त्रीकरणको मागलाई ‘शत्रुतापूर्ण नीति’ का रूपमा व्याख्या गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार किमको दक्षिणप्रति कडा भाषण प्रत्यक्ष युद्धको सङ्केतभन्दा बढी आफ्नो क्षेत्रीय प्रभाव र शक्ति दाबी गर्ने प्रयास हो । मस्को र बेइजिङसँग नजिकिँदो सम्बन्ध तथा बढ्दो आणविक शस्त्रागारको पृष्ठभूमिमा उहाँले सियोलसँगको कूटनीति लगभग अस्वीकार गरिसक्नुभएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने प्योङयाङले सम्बन्धलाई निरन्तर शत्रुतापूर्ण रूपमा चित्रण गरिरहेकोप्रति खेद व्यक्त गर्दै शान्ति स्थापनाका प्रयास धैर्यपूर्वक जारी राख्ने जनाएको छ ।

सम्मेलनपछि राजधानी प्योङयाङमा सैन्य परेड गरिएको सरकारी समाचार एजेन्सीले जनाएको छ । करिब १३ वर्षीया छोरी किम जु एसँग परेड अवलोकन गर्दै किमले आफ्नो सेना कुनै पनि शत्रुतापूर्ण खतरा विरुद्ध ‘तुरुन्त र पूर्ण बदला’ लिन सक्षम रहेको दाबी गर्नुभयो । यद्यपि सबैभन्दा शक्तिशाली हतियारहरू प्रदर्शन गरिएको विषयमा तत्काल विवरण सार्वजनिक गरिएको छैन ।

किमले सन् २०२४ यता दक्षिणसँगको शान्तिपूर्ण पुनर्मिलनको पुरानो लक्ष्य औपचारिक रूपमा त्याग्दै दक्षिणलाई स्थायी शत्रु घोषणा गर्नुभएको छ । उहाँले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको संवाद प्रस्तावलाई ‘छल’ भन्दै अस्वीकार गर्नुभयो र उत्तरले दक्षिणलाई साझा राष्ट्रको अवधारणाबाट ‘स्थायी रूपमा अलग’ गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार दक्षिणले आफूलाई नउक्साए सुरक्षित रूपमा बस्न सक्नेछ ।

यसैबीच, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच हुने वार्षिक संयुक्त सैन्य अभ्यासले अर्को महिना तनाव थप बढ्न सक्ने देखिन्छ । प्योङयाङले यस्ता अभ्यासलाई आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै प्रायः आफ्ना हतियार परीक्षण तीव्र पार्ने गरेको छ ।

पछिल्ला वर्षहरूमा उत्तर कोरियाले ठोस इन्धनयुक्त आइसिबिएम, सामरिक आणविक प्रणाली र कथित हाइपरसोनिक हतियार परीक्षण गरेको छ । सन् २०२३ मा पहिलो सैन्य उपग्रह प्रक्षेपण गरेको दाबी गरिएको थियो भने आणविक ऊर्जाचालित पनडुब्बी निर्माणमा प्रगति भएको पनि जनाएको छ । नयाँ लक्ष्यअन्तर्गत किमले कृत्रिम बौद्धिकता (एआई) युक्त आक्रमण ड्रोन, उन्नत जासुसी उपग्रह र इलेक्ट्रोनिक युद्ध क्षमता विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो ।

यसरी, प्योङयाङले एकातिर सैन्य शक्ति प्रदर्शन गर्दै दक्षिणप्रति कठोर अडान दोहो¥याएको छ भने अर्कोतिर वासिङ्टनसँग सर्तसहित संवादको सम्भावना खुला राखेको छ । किमको यो दोहोरो सन्देशले कोरियाली प्रायद्वीपमा तनाव र कूटनीति सँगसँगै अघि बढ्ने सङ्केत दिएको विश्लेषण गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

सबैभन्दा छोटो समयमा ल्होत्से आरोहण गर्ने तयारीमा फूर दिकी शेर्पा

सबैभन्दा छोटो समयमा ल्होत्से आरोहण गर्ने तयारीमा फूर दिकी शेर्पा

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने

आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने