Tuesday, 27 October 2026
ब्रेकिङ
समाचार

हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता




गोरखा, १२ असोजः मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका-२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे-२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेका जानकारी दिनुभयो । आइतबार बिहान हिमलुङ आधार शिविरको हिमपहिरोमा बेपत्ता भएका दुवै जनाको खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गरेका छन् ।

करिब ३२ वर्षका वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रूपमा र ४५ वर्षका आशबहादुर इम्याजिन नेपाल एक्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए । “आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ”, पीडित परिवारका अर्जुन गुरुङले भन्नुभयो, “वीरेन्द्रको बुवा, श्रीमती, एउटा तीन चार वर्षको र अर्को पाँच छ वर्षको छोरा छन् । आशबहादुरको श्रीमती र छोराछोरी काठमाडौँमा छन् । घरमा बुढी आमा हुनुहुन्छ ।”

दुवै जनासंँगै हिमलुङ आधार शिविरको हिमपहिरोमा १६ जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक क्षेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेर सनाखत भइसकेको छ । तर उनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन ।

समुद्री सतहबाट चार हजार ८७५ मिटर अग्लो आधार शिविरमा हराएकाहरुको खोजी कार्यका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक सङ्घबाट १४ जनाको उद्धार टोली खटिएका छन् । घटनाका बेला भागेर ज्यान बचाएका १४ जनाको टोली फू बाट आधार शिविरतर्फ गएका पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिनुभयो ।  “अहिले मौसम खुलेर खोजतलास गर्न सजिलो भएको छ”, उहाँले भन्नुभयो, “हिउँ धेरै बाक्लो रहेकाले खोजी कार्य गर्न धेरै समय लाग्छ सक्छ ।”

—

Source link

तपाईंको प्रतिक्रिया