रौतहट- अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहटका विभिन्न स्थानमा तटबन्ध कटान गर्न थालेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको टोलीले उच्च जोखिममा रहेका क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ।
आज बिहान रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुरस्थित लालबकैया नदीले तीव्र रूपमा कटान गरिरहेको तटबन्ध क्षेत्रको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो।
अनुगमनमा प्रहरी प्रशासनको टोलीसँगै मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना देवी साह पनि सहभागी भएकी थिइन्।
अनुगमनका क्रममा नदीको बहाव, तटबन्धको अवस्था तथा बाढीका कारण थप कटान र डुबान हुन सक्ने सम्भावित क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो।
नदीको पानीको बहाव बढ्दै जाँदा तटबन्धमा भइरहेको कटानले आसपासका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै टोलीले क्षेत्रको अवस्थाबारे जानकारी लिएको हो।
मर्यादपुरपछि टोलीले राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलाको पुल, बाँध तथा कटान र डुबान हुन सक्ने सम्भावित स्थानहरूको समेत निरीक्षण गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब साढे ११ बजे प्रमुख जिल्ला अधिकारी पौडेल, नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेडक्वार्टर हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उपअनुसन्धान अधिकृत कुमार बुढाथोकी लगायत स्थानीय जनप्रतिनिधिसहित करिब ५० देखि ५५ जनाको टोलीले राजपुर–२ स्थित लालबकैया खोलाको पुल तथा बाँध क्षेत्रको अनुगमन गरेको थियो।
टोलीले नदीको बहाव, बाँध तथा तटबन्धको अवस्था र कटान तथा डुबानको सम्भावना रहेका स्थानको निरीक्षण गरी करिब पौने १२ बजे फर्किएको थियो।
अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी नायब निरीक्षक खिमबहादुर बिडारीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीका कारण लालबकैया नदीका विभिन्न क्षेत्रमा कटान बढ्दै गएपछि प्रशासन र सुरक्षा निकायले नदी आसपासका उच्च जोखिमयुक्त क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी बढाएका छन्।
नदीको बहाव थप बढेमा तटबन्ध कटानसँगै आसपासका बस्ती तथा कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

