काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनबीच कार्यक्रम उत्पदान तथा प्रसारण सम्बन्धी सहकार्य सम्झौता भएको छ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सीटीइभीटी जागरण’ कार्यक्रममार्फत सर्वसाधारणलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका बारेमा जानकारी दिने उद्देश्यले सम्झौता गरिएको हो।
आर्थिक वर्ष २०८३/८४ का लागि गरिएको सम्झौताअनुसार प्रत्येक १५ दिनमा नेपाल टेलिभिजनबाट ‘सीटीइभीटी जागरण’ कार्यक्रम प्रसारण हुनेछ।
कार्यक्रममा सीटीइभीटीका गतिविधिका साथै परिषद्ले सञ्चालन गर्ने विभिन्न विषयका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसर, सीटीइभीटीमा अध्ययन गर्दा पाइने छात्रवृत्तिलगायतका विषय समेटिनेछन्।
त्यसैगरी प्राविधिक शिक्षा हासिल गरेर सफल भएका पूर्वप्रशिक्षार्थीका सफलताका कथा तथा प्राविधिक शिक्षाको महत्वका बारेमा समेत कार्यक्रममा जानकारी दिइनेछ।
सम्झौतामा सीटीइभीटीका निमित्त सदस्य–सचिव अनोज भट्टराई तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले हस्ताक्षर गर्नुभयो।
कार्यक्रममा सीटीइभीटीका सदस्य–सचिव भट्टराईले प्राविधिक तथा व्यावसायिक सीपबिना अगाडि बढ्न नसकिने बताउँदै सीटीइभीटीका डिप्लोमा तहका कार्यक्रममा ६१ प्रतिशत छात्रा प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो।
नेपाल टेलिभिजनसँगको सहकार्यले मुलुकभरका युवालाई प्राविधिक शिक्षाका बारेमा जानकारी दिन मद्दत पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले समृद्धिका लागि जागिरे मनोवृत्ति त्यागेर प्राविधिक तथा व्यावसायिक सीप विकास गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले सीप प्रदान गर्ने कार्यमा समावेशिताको विषयलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो।
नेपाल टेलिभिजनबाट विगत दुई वर्षदेखि ‘सीटीइभीटी जागरण’ कार्यक्रम प्रसारण हुँदै आएको छ।

