Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा




काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपालको भोटेकोशी बाढीको विपद्, हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, उत्थानशील विकासका लागि अन्तरराष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री चौधरीले नेपालले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको वर्तमान अवस्था तथा संयुक्त राष्ट्रसङ्घबाट हुन सक्ने सहयोग र सहकार्यबारे छलफल गर्नुभयो । भेटमा भोटेकोशी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति, प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, खाद्य सुरक्षा, जलवायु न्याय, पर्वतीय ‘एजेन्डा’ तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

मन्त्री चौधरीले आगामी संयुक्त राष्ट्रसङ्घ महासभा तथा कोप-३१ मा नेपालको पर्वतीय एजेन्डा र जलवायु न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउन संयुक्त राष्ट्रसङ्घको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । त्यसैगरी, खाद्य सुरक्षा क्लस्टरलाई थप प्रभावकारी बनाउन खाद्य तथा कृषि सङ्गठन (एफएओ)लगायत संयुक्त राष्ट्रसङ्घीय निकायसँग दीर्घकालीन सहकार्य र विपद्पछिको पुनरुत्थानका लागि थप सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक याहियाले भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, पूर्वसूचना प्रणाली तथा जलवायुजन्य जोखिम न्यूनीकरणमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Source link

तपाईंको प्रतिक्रिया