उर्जामन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

उर्जामन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी पुनःस्थापना तथा उद्धारका काम तीव्र पारिएको छ । हाल नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ ।

सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यकता देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसै क्रममा रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धारका लागि पनि आवश्यक तयारी र समन्वय भइरहेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ । पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोका कारण पुरिएपछि नेपाली सेना तथा दक्ष प्राविधिकको समन्वयमा उत्खनन् उपकरण प्रयोग गरी बाटो खुलाउने काम तीव्र पारिएको छ ।

नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ । टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उहाँहरूको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालित रहेको बताइएको छ ।

यसैबीच, बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयमा सम्बन्धित आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरुसँग बैठक गरी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई रातिको समयमा समेत प्रभावकारी बनाउन सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्रीसमेत उपलब्ध गराइएको छ ।

मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ। आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने बताइएको छ ।

विपद्को कठिन परिस्थितिमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र निरन्तर सञ्चालनमा राख्दै प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा मजदुरको जीवनरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धार तथा पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढी प्रभावित बालबालिकालाई गैरकानुनी ओसारपसार नगर्नु

बाढी प्रभावित बालबालिकालाई गैरकानुनी ओसारपसार नगर्नु

उर्जामन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

उर्जामन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार,मृत्यु हुनेको सङ्ख्या ५४७ पुग्यो

प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार,मृत्यु हुनेको सङ्ख्या ५४७ पुग्यो

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो