Saturday, 31 October 2026
ब्रेकिङ
समाचार

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि




काठमाडौँ– पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो ।

आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।

त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् ।

सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आउनुभएको थियो । उहाँका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् । हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो । पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको थियो ।

मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् ।

Source link

तपाईंको प्रतिक्रिया