
चितवन– जिल्लामा गत आर्थिक वर्षमा ३३३ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ती उद्योग तथा वाणिज्यका व्यवसाय दर्ता भएका हुन् । त्यस्तै वाणिज्यतर्फ ३७९ वटा नयाँ फर्म दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार उद्योग तथा वाणिज्यतर्फ रु ९३ करोड १५ लाख ८९ हजार ९७९ पुँजी रहेको छ । जिल्लामा नयाँ लगानी गर्नेमा उद्योगतर्फ महिला १६७, पुरुष १७० र एउटा फर्म रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगमा ६९० महिला र ९५२ जना पुरुषले रोजगार पाएका छन् ।
हाल जिल्लामा १६ हजार ५१८ घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । उहाँका अनुसार १७ हजार ७३४ वटा वाणिज्यसँग सम्बन्धित व्यवसाय सञ्चालमा रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा दर्ता भएका ३०३ वटा उद्योग तथा ४४५ वटा वाणिज्यसँग सम्बन्धित कार्यालय बन्द भएका छन् । व्यवसाय नचलेर, वृद्धावस्थामा पुगेर, वैदेशिक रोजगारीमा जानुपर्ने जस्ता कारणले उद्योग तथा वाणिज्यमा लगानी कर्ताहरूले बन्द गराएको उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योगहरू दर्ता गर्नेहरूमा महिला १४५ र दलित तीन जनाले दर्ता शुल्कमा छुट प्राप्त गरेको कुमालले जानकारी दिनुभयो ।
यस्तै, वाणिज्यतर्फ महिला २००, दलित १५ र अपाङ्ग एक जनाले दर्ता शुल्क छुट पाएका छन् । उनीहरूले रु ३३ लाख १६ हजार छुट पाएको उहाँले बताउनुभयो । महिला, दलित, अपाङ्गलाई फर्म दर्तामा शुल्क लाग्दैन ।
कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ९६८ वटा उद्योगतर्फ र वाणिज्यतर्फ तीन हजार ६७५ वटा नवीकरण भएका छन् । समयमा नवीकरण नगर्ने उद्योग तथा वाणिज्यतर्फका कार्यालयहरूलाई जरिवाना गरिने उहाँले बताउनुभयो । अनुगमनका क्रममा त्यस्तो भेटिएमा उनीहरूलाई कारबाही गरिने छ ।

