
काठमाडौँ- नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले संयुक्त राजीनामा दिएका छन् ।
एमालेले मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखलाई समर्थन फिर्ताको जानकारी गराइएको पत्रमा उल्लेख छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिनु भएको हो।
बागमती प्रदेश सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात विषय हेर्ने मन्त्री जयराम थापा तथा कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी सरकारमा सहभागी छन्।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।


