
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले उक्त व्यवस्था प्रारम्भदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको उल्लेख गर्नुभएको छ।
उहाँले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा विलासिता नभई बाध्यता भएको बताउनुभएको छ। निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारका रूपमा उल्लेख गर्दै सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने उहाँको भनाइ छ।
थापाले ३ प्रतिशत समता शुल्क समानताको नीति नभई असमानतालाई अझ बढावा दिने व्यवस्था रहेको उल्लेख गर्दै सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गरेर उक्त व्यवस्था खारेज गरेको भन्दै त्यसलाई सही निर्णय भएको बताउनुभएको छ।
उहाँले निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
साथै, बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याएर आमनागरिकको भावना र आवश्यकता बुझ्न सरकारलाई आग्रह गर्नुभएको छ।


