नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण




मध्यविन्दु (नवलपरासी)- नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो ।

“नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो”, उहाँले भन्नुभयो, “सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ ।”

सूचना अधिकारी खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् । सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

रचनात्मक सुझावसहित संवादमा आउन पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह