पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

तानसेन (पाल्पा)- एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् ।

“हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने गरेको देख्दा रमाइलो लाग्थ्यो । हामीले पनि गोरु जोतैरै रोपाइँ गर्यौंं तर हिजोआज भने ट्याक्टरले जोत्न थाले”, घर्तीले भन्नुभयो, “अहिले गाउँमा हलगोरु भेट्याउनै मुस्किल पर्छ ।” गाउँमा अहिले एक–दुई हल गोरु मात्रै रहेका उहाँले बताउनुभयो ।

आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेरै जोतेको घर्तीको भनाइ छ । “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त किसानहरूले गोरु पाल्नै छाडे”, उहाँले भन्नुभयो, “गाउँघरमा अहिले एक, दुई हल मात्रै गोरु छन्, मैले उमेर हुँदासम्म घरमै गोरु पालेरै जोत्ने गर्थे तर अहिले बुढो भएर सक्दिन ।” मकै रोप्ने र जोत्नेबेला छोराहरुले ट्याक्टर ल्याएर जोत्ने गरेको उहाँले सुनाउनुभयो ।

पूर्वखोला गाउँपालिका रिङनेरहका वीरबहादुर सारुले खेतबारी जोत्न सहज रूपमा ट्याक्टर पाइन थालेपछि विगत पाँच वर्षदेखि गोरु पाल्न छाडेको बताउनुुभयो । पाखाको बारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको सारुको भनाइ छ ।

गाउँघरबाट युवापुस्ता वैदेशिक रोजगारीमा पलाएन हुनेक्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६० वर्षीय सारुले बताउनुुभयो । “बढेका छोरा, बुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन्”, उहाँले भन्नुुभयो, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ ।”

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय यहाँका अधिकांश फाँटमा गोरुले खेतबारी जोत्ने परम्परा विस्तारै हराएको छ । कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढ्दै जाँदा गोरुको स्थान ट्याक्टर, मिनी टिलर र पावर टिलरले लिन थालेका छन् ।

पहिले हरेक किसानले खेतीका लागि गोरु पाल्ने चलन थियो । रोपाइँ, मकै, गहुँ तथा अन्य बाली लगाउन खेत जोत्न गोरु अनिवार्य मानिन्थ्यो । तर पछिल्ला वर्षमा कृषि मजदुरको अभाव, समयको बचत र कृषि उपकरणबाट छिटो काम हुने भएकाले किसान यान्त्रिक उपकरणतर्फ आकर्षित भएका सारुको बुझाइ छ ।

विशेषगरी अन्नको भण्डारका रूपमा लिइने तानसेनको माडीफाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा एक दशकअघिसम्म गोरुले जोतेर धान रोप्ने प्रचलन थियो ।

अहिले यी ठाउँमा ट्याक्टरले जोतेर धान रोपाइँ हुने गरेको छ । गाउँमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जाँदा हलो, जुवा, फालीलगायत परम्परागत कृषि सामग्री पनि प्रयोगविहीन बन्दै गएका छन् । यसले ग्रामीण जीवनसँग जोडिएका पुराना कृषि संस्कार र सीपसमेत लोप हुने अवस्थामा पुगेको छ ।

यान्त्रिकीकरणले उत्पादन लागत र समय घटाउन सहयोग गरे पनि परम्परागत कृषि ज्ञान तथा जैविकखेतीसँग जोडिएका अभ्यासको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यावदले बताउनुभयो । केही वर्षयता गाउँका कृषकहरूले आधुनिक हलो प्रयोग गर्न थालेका भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह