काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी दिनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभएको छ ।
नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो ।
तर, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोधसमेत गर्नुभएको छ ।।

