
काठमाडौँ– हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।
आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो ।
विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।
कार्यक्रममा सचिव बस्नेतले विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो । उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गर्नुभयो ।
शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले दिवङ्गत पत्नीको पुस्तकालय विकासप्रतिको समर्पण स्मरणबारे सुनाउनुभयो । त्रिभुवन विश्वविद्यालयमा जानकारी दिँदै उहाँले भन्नुभयो, “शान्ति पुस्तकालयलाई वृहत् बनाउने सोच राख्थिन्, त्यसैले पढाउन छोडेर पुस्तकालय नै रोजिन्।”
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले वर्तमान केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट स्थापित भएको बताउनुभयो । हाल उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक रहेका र तिनको ई–लाइब्रेरीमा रूपान्तरण जारी रहेको जानकारी दिनुभयो।
विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकट केवल कागजको टुक्रा नभई ऐतिहासिक दस्तावेजको रूपमा संरक्षण हुने माध्यम भएको बताउनुभयो । टिकटका माध्यमबाट शान्ति मिश्रको योगदानको कदर भएको र त्यसले मुलुकको गौरवसँगै आधुनिक पुस्तकालयको प्रतिष्ठा बढाएको उहाँले बताउनुभयो ।

