
चितवन – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि आयोजना हुने रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन भरतपुर पुग्नु भएको छ ।
आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो । उद्घाटन शत्रमा विभिन्न दलका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैगरि राति परेको पानीले महाधिवेशन स्थल जलमग्न भएपछि गृहमन्त्री सुधन गुरुङ त्यहाँ पुगेर तत्काल व्यवस्थापन गर्न भन्नुभएको छ ।
महाधिवेशनस्थलमा पानी जमेपछि कार्यकर्ता र स्वयंसेवकहरुले मोटर लगाएर पानी फालेका छन् । भरतपुरस्थित गेष्टहाउस चौरमा निर्माण गरिएको महाधिवेशनस्थलको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थापनबारे पनि जानकारी लिनुभयो । मंच एवम सभाहल ब्यवस्थापनको काम अहिले पनि चलिरहेको छ ।
तीन दिनसम्म्म चल्ने महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी गरिएको छ । महाधिवेशनस्थल भरतपुरमै हिजो साँझ बसेको अन्तिम केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गर्दै १२१ सदस्यीय केन्द्रीय समितलाई बढाएर १५८ सदस्यीय समिति बनाउने निर्णय पनि गरेको छ ।
यसमा खुला प्रतिस्पर्धाबाट ९९ जना र ५१ जना पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि रहनेनेछन् । रास्वपाले प्रथम महाधिवेशन अघिसम्म पार्टी साधारण सदस्य ५ लाख पुगेको जनाएको छ । ।


