अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

अर्घाखाँची, जेष्ठ २९ — अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ पावर गाउँमा सामुदायिक वनबाट संकलन गरिएको पातपतिंगर प्रयोग गरी उत्पादन गरिएको प्रांगारिक मल किसानका लागि रासायनिक मलको प्रभावकारी विकल्प बन्दै गएको छ। स्थानीय किसानहरूले खेतबारीमा उक्त मल प्रयोग गर्न थालेपछि रासायनिक मलप्रतिको निर्भरता घट्दै गएको छ भने अर्गानिक खेतीप्रति आकर्षण बढेको छ।

पावर गाउँका किसान हरिबहादुर टण्डन विगतका वर्षहरूमा धानको ब्याड तथा खेतबारीका लागि रासायनिक मल प्रयोग गर्दै आएका थिए। मलको अभाव हुँदा कपिलवस्तु र बुटवलसम्म पुगेर मल खोज्नुपर्ने बाध्यता थियो। तर यस वर्ष उनले सामुदायिक वनको पातपतिंगरबाट उत्पादन गरिएको प्रांगारिक मल र गोठे मल प्रयोग गरेर धान खेती सुरु गरेका छन्।

उनले १५ कठ्ठा खेतमा धान खेती गर्दै आएका छन्। विगतमा रासायनिक मल प्रयोग गर्दा करिब ३० मुरी धान उत्पादन हुने गरेको स्मरण गर्दै उनले अहिले प्रांगारिक मलबाट अझ राम्रो उत्पादन हुने विश्वास व्यक्त गरे। तरकारी तथा अन्य अन्नबालीमा यसअघि प्रयोग गर्दा राम्रो उत्पादन र गुणस्तर प्राप्त भएको अनुभवका आधारमा उनले अब रासायनिक मल प्रयोग नगर्ने निर्णय गरेका छन्।

टण्डनका अनुसार प्रांगारिक मलले माटोको उर्वराशक्ति बढाउनुका साथै बालीको गुणस्तरमा समेत सुधार ल्याउँछ। यसले दीर्घकालीन रूपमा माटोको स्वास्थ्य संरक्षण गर्ने भएकाले किसानहरूका लागि लाभदायक रहेको उनको भनाइ छ।

किसान टण्डन खेतीपातीसँगै पावर सामुदायिक वनका सक्रिय उपभोक्ता पनि हुन्। वन संरक्षणका विभिन्न गतिविधिमा उनी वर्षौंदेखि संलग्न छन्। हिउँदको समयमा वनमा आगलागी हुन नदिन फायरलाइन निर्माण, वृक्ष संरक्षण, काँटछाँट तथा सरसफाइ जस्ता कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। सामुदायिक वनलाई निजी सम्पत्तिसरह माया गरेर संरक्षण गर्ने स्थानीयहरूको सक्रियताकै कारण वनबाट आर्थिक लाभ लिन सकिने अवस्था सिर्जना भएको उनी बताउँछन्।

यस्तै, स्थानीय किसान चुरा कार्की ले पनि अबदेखि रासायनिक मल नकिन्ने बताएका छन्। करिब २५ कठ्ठा क्षेत्रफलमा खेती गर्दै आएका उनले धान, मकै तथा तरकारी उत्पादनमा प्रांगारिक मल प्रयोग गर्ने योजना बनाएका छन्। उनको खेतबाट वार्षिक करिब ५० क्विन्टल धान उत्पादन हुने गरेको छ।

कार्कीका अनुसार प्रांगारिक मलले माटोको उर्वराशक्ति वृद्धि गर्नुका साथै उत्पादनको गुणस्तरमा सुधार ल्याउँछ। यसबाट उत्पादित अन्न तथा तरकारीलाई अर्गानिक उत्पादनका रूपमा बजारमा राम्रो मूल्य प्राप्त हुने अपेक्षा गरिएको छ।

गाउँका अधिकांश किसानहरूले गोठे मल र पातपतिंगरबाट बनेको मल प्रयोग गरी अर्गानिक खेती गर्ने सहमति गरेका छन्।पावर सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार समिति संयोजकसमेत रहेका कार्कीले वनलाई संरक्षणसँगै आयआर्जनको माध्यमका रूपमा विकास गर्न थालिएको बताए। उनका अनुसार पहिले खेर जाने पातपतिंगर अहिले मल उत्पादनको कच्चा पदार्थ बनेको छ। वनमा वृक्षरोपण, झाडी सरसफाइ, काँटछाँट तथा पात संकलनका कामबाट स्थानीय परिवारले रोजगारीसमेत प्राप्त गरिरहेका छन्।

उनले वन उद्यम र कृषि उद्यमलाई एकआपसमा जोडेर गाउँको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिएको बताए। अर्गानिक उत्पादनलाई ठूला सहरका बजारसम्म पुर्‍याउने योजना रहेको उल्लेख गर्दै उनले यसबाट युवाहरूलाई गाउँमै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे।

स्थानीयवासीका अनुसार सामुदायिक वनबाट उत्पादन भएको प्रांगारिक मलले रासायनिक मलको अभाव हटाउनुका साथै उत्पादन लागत पनि घटाएको छ। किसानहरूले आफ्नै स्रोत–साधन प्रयोग गरेर मल उत्पादन गर्न थालेपछि कृषि उत्पादन दिगो र वातावरणमैत्री बन्दै गएको छ।

वन संरक्षण र कृषि उत्पादनलाई एकैसाथ जोड्ने यस अभियानले शितगंगा नगरपालिका–१४ लाई अर्गानिक कृषि उत्पादनको नमुना क्षेत्र बनाउने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूका अनुसार सामुदायिक वनको सदुपयोग, प्रांगारिक मल उत्पादन र अर्गानिक खेतीको विस्तारले गाउँलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने मात्र होइन, वैदेशिक रोजगारीको विकल्पसमेत सिर्जना गर्ने विश्वास बढेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै