भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, ३० जेठःसूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताउनुभएको छ ।

गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो ।

“कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।”

उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गर्नुभयो । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उहाँले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पु¥याएको अनुभव सुनाउनुभयो ।

उहाँले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताउनुभयो । “हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।

समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।

“सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो,” उहाँले भन्नुभयो, “त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ । आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।”

विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्था कमजोर बन्न भएका उहाँको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताउनुभयो ।

“अब सुधार कसरी गर्ने भन्ने सवालमा सरकार जिम्मेवार र जवाफदेही बन्छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “यसमा सबै क्षेत्रको साथ आवश्यक छ । संस्थाहरू पनि नयाँ बल, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको देख्न पाइयोस् भन्ने अपेक्षा छ ।”

गोरखापत्र संस्थानलाई अझ ओजपूर्ण, व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गर्नुभयो । नयाँ प्रविधिको उपयोग आवश्यक भए पनि पठन संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

वरिष्ठ कथाकार भाउपन्थीले साहित्य सिर्जना, प्रकाशन र प्रवद्र्धनका लागि राज्यका तर्फबाट पनि लगानी आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय साहित्यिक पत्रिकाहरूको प्रकाशन क्रमशः बन्द हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले सिर्जनशीलताका आयामहरू फरक–फरक ढङ्गले विकास भइरहेकाले तिनलाई समयानुकूल संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
–––

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना