सिरहा-कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्ती, निर्माण कम्पनीको लापर्वाही तथा वर्षौँदेखि नागरिकले भोग्दै आएको सास्तीविरुद्ध सिरहा गोलबजार नगरपालिका–४ निपनियामा शुक्रवार बिहान स्थानीयवासीले प्रदर्शन गरे।
स्थानीय, व्यापारी तथा विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै करिब डेढ घण्टा सडक अवरुद्ध गरेका हुन ।
आन्दोलनका कारण राजमार्गमा सयौँ सवारी साधन रोकिएका थिए भने लामो दूरीका यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए ।
प्रदर्शनकारीहरूले सडक निर्माणको काम तत्काल तीव्र बनाउन, हिलो–धुलो नियन्त्रण गर्न तथा निर्माण कम्पनीलाई जिम्मेवार बनाउन माग गरेका छन् ।
स्थानीयका अनुसार ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको सडक आयोजना सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा जनजीवन प्रभावित बनेको छ ।
सामान्य वर्षा हुँदा सडक हिलाम्मे भएर आवतजावत नै कठिन हुने गरेको स्थानीयवासीको गुनासो छ । धुलो र हिलोका कारण विद्यार्थी विद्यालय जान समस्या हुने, व्यवसाय प्रभावित हुने तथा विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उनीहरू बताउँछन् ।
स्थानीय दिनेश नायकले वर्षौँदेखि नागरिकले सास्ती खेपिरहे पनि सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाए । आन्दोलनपछि निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीसँग छलफल गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको स्थानीय नेता प्रमेश्वर साहले जानकारी दिए ।
उनले समस्या समाधानमा ठोस पहल नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लहान, गोलबजार, मिर्चैया लगायतका क्षेत्रमा सडकको दुरावस्थाले स्थानीय बासिन्दा लामो समयदेखि हैरान छन् ।
हिउँदमा अत्यधिक धुलो र वर्षायाममा हिलोका कारण दैनिक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको ८६.८३ किलोमिटर कञ्चनपुर–कमला सडक विस्तार आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेको छैन ।
नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ असार ११ गते भएको सम्झौताअनुसार आयोजना २०८० कात्तिकभित्र सम्पन्न हुनुपर्ने भए पनि हालसम्म करिब ६८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ ।
आयोजनामा पटक–पटक म्याद थपिँदै आएको छ ।
निर्माण कम्पनीको सुस्त कार्यशैली, कोरोना महामारी, विद्युत् पोल सार्न भएको ढिलाइ तथा रुख कटान प्रक्रियामा समस्या देखाउँदै काममा ढिलाइ भएको बताइएको छ ।
हाल थपिएको म्याद आगामी असार १६ गते सकिन लाग्दा समेत ठूलो हिस्सा काम बाँकी रहेको छ ।
निर्माणमा भएको ढिलाइका कारण आयोजनाको लागतसमेत उल्लेख्य रूपमा बढेको छ ।
कुल १५ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म झण्डै ३ अर्ब रुपैयाँ अतिरिक्त भार थपिएको छ ।।


