काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरलाई वास्तविक र देखिने गरी उकास्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।
युरोपेली सङ्घ (इयू)का सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूले गर्नुभएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको हो ।
प्रधानमन्त्री शाहले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चिता र नीतिगत निरन्तरता रहने उल्लेख गर्नुभयो ।
नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्दै प्रधानमन्त्रीले छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ, भन्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेट तथा छलफलमा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
विश्वका विभिन्न भूभागका द्वन्द्वको सबैभन्दा बढी पीडा सर्वसाधारण नागरिकले भोग्नु परेको बताउदै प्रधानमन्त्री शाहले समस्या समाधानमा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युरोपेली संघ तथा अन्य देशका राजदूतहरूले नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए ।।


