अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।

आज यहाँ विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चार जगत्ले जिम्मेवार एवम् आत्मअनुशासित भएर काम गर्नुपर्ने बताउनुभयो । राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार जगत् विधिविधान र आचारसंहिता परिपालनामा गम्भीर हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो ।

“सामाजिक सञ्जालमा मात्र नभै सञ्चार जगत्ले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या छन् । यदि यस्ता कुरामा कडाई गर्न थाल्यौँ भने फेरि अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर सञ्चारमाध्याम नै आवाज उठाउन थाल्छन्”, उहाँले भन्नुभयो,“यी सबै समस्या कारबाहीबाट समाधान गरिनुपर्छ भन्ने पक्षमा सरकार छैन । तपाईंहरू आफँै स्वनियमन र आचारसंहिताको पूर्णपालनामा केन्द्रित हुनुहोला ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्न पनि आग्रह गर्नुभयो । “भ्रमको आयु छोटो हुन्छ, तर त्यसले पार्ने क्षति गम्भीर हुनसक्छ । त्यसैले अपुष्ट सूचनाबाट सञ्चारमाध्याम सचेत हुन जरूरी छ”, उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै श्रमजीवि पत्रकारको हितमा काम गर्ने बताउनुभयो । उहाँले विज्ञापन तथा सूचना प्रकाशन÷प्रसारणमा पारदर्शीता ल्याउन, मितव्ययिता कायम गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि विज्ञापन नीतिमा केही नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो ।

“सरकारले आफ्ना सूचना तथा जानकारी सरकारी सञ्चारमाध्यामबाट मात्रै सम्प्रेषण गर्ने विषय पारदर्शिताको प्रश्नसँग जोडिएको छ । यसमा तमाम समस्या छन् र अनियमितता भएको छ भनेर पत्रकारिता क्षेत्रबाटै उठाइएका विषय हुन्”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो,“संस्थागत रूपमा सुशासन कायम गर्ने दायित्व सञ्चारजगत्को पनि उत्तिकै रहेकाले श्रमजीवि पत्रकार र व्यावसायिक सञ्चारको संरक्षणमा सरकार प्रतिबद्ध छ ।”

उहाँले सञ्चारमाध्यम बलियो नभए सरकार पनि बलियो नहुने उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार नभएसम्म सरकारलाई पनि जिम्मेवार बनाउन कठिन हुने धारणा राख्नुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारी सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यावसायिक बनाउन पहल भइरहेको उल्लेख गर्दै समाधानमुखी र तथ्यमा आधारित पत्रकारितामा जोड दिनुभयो । उहाँले विधिको पालना गर्दै सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

“नागरिकको करबाट सञ्चालित स्रोतको दुरुपयोग रोक्न सरकार गम्भीर छ । सरकारले काम र नतिजामार्फत जनतालाई जवाफ दिन्छ । हल्ला र अफवाहमा नभई सरकारले नीति र परिणाममा विश्वास गर्छ”, उहाँले भन्नुभयो,“वर्तमान सरकार गठन भएको तीन हप्ता मात्र भएको छ । यस अवधिमा नागरिकका अपेक्षा र आवश्यकता बुझेर काम अघि बढाइएको छ । निर्वाचनका क्रममा जनताले के चाहिरहेका छन् भन्ने हामीले बुझेका छौँ, हाल त्यहीअनुसार काम भइरहेको छ ।”

विगतमा जनताका प्रश्नको उत्तर समयमै नदिइएका कारण हरेक नागरिकमा आशाको अभाव देखिएको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले हाल काममार्फत त्यसको उत्तर दिने प्रयास भइरहेको बताउनुभयो । “सहज सेवा प्रवाह, सुशासन, विकास निर्माणलगायत क्षेत्रका समस्या स्रोत–साधनको अभावले मात्र होइन, कार्यशैली र प्रतिबद्धताको कमीले पनि देखिएका थिए । यिनै समस्या चिर्ने काम सरकारले गरिरहेको छ”, उहाँले भन्नुभयो ।

सरकारले सुशासन कायम गर्ने र प्रभावकारी सेवा प्रवाह गर्ने जनादेश पाएकाले सोहीअनुसार आफूहरूले काम गर्ने र कुनै समस्या भए निरन्तर खबरदारी र निगरानी राख्न पनि उहाँले आग्रह गर्नुभयो । “सरकारलाई सत्यमा आधारित प्रश्न गर्नुहोस् । समस्या देखिएका ठाउँमा गाँठो फुकाउन दबाब दिनुहोस् र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव दिनुस्, त्यसलाई सहर्ष स्वीकार्छौं”, सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो,“तथापि, सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले कसैलाई फाइदा गर्दैन । यसमा सबै सचेत बनौँ ।”

सेवा प्रवाहलाई सहज बनाउन सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्ने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले युवा विदेशिने बाध्यता अन्त्य गर्न मुलुकभित्रको वातावरण सुधार्ने, देशलाई बस्न योग्य बनाउने र अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्नुभयो । काम गर्ने क्रममा समस्या आउन सक्ने स्वीकार्दै उहाँले नियत सही भए प्रक्रियागत रूपमा समाधान गर्न सकिने बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै बुझाइमा केही समस्या भए पनि सेवा प्रवाहमा असर पर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

यसरी फेरिदैछ रुपाको रुप – सार्वजनिक सेवा प्रसारण संस्था

यसरी फेरिदैछ रुपाको रुप – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य