मध्यपूर्व युद्धले युक्रेन ओझेलमा – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यपूर्व युद्धले युक्रेन ओझेलमा – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यपूर्वमा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले व्यक्त गर्नुभएको छ । उहाँका अनुसार इरान केन्द्रित अमेरिकीइजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ ।

इस्तानबुलमा एसोसिएटेड प्रेससँग शनिबार राति भएको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले स्पष्ट रूपमा भन्नुभयो, “हामीले स्वीकार्नुपर्छ कि हामी अहिले प्राथमिकतामा छैनौँ ।” उहाँले लामो समयसम्म इरानसँगको युद्ध जारी रहे युक्रेनले पाउने सहयोग झन् घट्ने डर व्यक्त गर्नुभयो ।

युक्रेनले रुसको निरन्तर आक्रमणको सामना गरिरहँदा विशेषगरी अमेरिकी ‘पेट्रियट’ हवाई रक्षा प्रणालीको आवश्यकता अत्यन्तै बढेको उहाँले बताउनुभयो । यी प्रणालीहरू रूसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न महत्त्वपूर्ण मानिन्छन्, तर हालसम्म पर्याप्त सङ्ख्यामा उपलब्ध नभएको उहाँको गुनासो छ । “यदि इरान युद्ध चाँडै टुङ्गिएन भने हाम्रो लागि आउने सहायता प्याकेज झन् सानो हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

चार वर्षअघि सुरु भएको रुसी आक्रमणपछि युक्रेनका सहरहरू निरन्तर निशानामा परिरहेका छन् । ऊर्जा पूर्वाधारमा आक्रमण हुँदा औद्योगिक उत्पादनमा अवरोध आएको छ भने जाडो मौसममा सर्वसाधारण आधारभूत सुविधाबाट समेत वञ्चित भएका छन् । हजारौँ नागरिकको ज्यान गएको यो द्वन्द्व अझै निर्णायक मोडमा पुग्न सकेको छैन ।

फेब्रुअरीमा मस्को र किएभबीच अमेरिकाको मध्यस्थतामा भएको वार्ता निष्कर्षविहीन बनेको थियो । जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । यद्यपि, उहाँका अनुसार ती कूटनीतिक प्रयासहरूले पनि युक्रेनप्रति घट्दो अन्तर्राष्ट्रिय ध्यान झल्काउँछन् ।

मध्यपूर्व युद्धको प्रभाव केवल कूटनीतिक तहमा मात्र नभइ, आर्थिक र सैन्य सन्तुलनमा पनि देखिएको छ । इरानले स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गरेपछि तेलको मूल्य बढेको छ, जसबाट रुसलाई अतिरिक्त आम्दानी भइरहेको जेलेन्स्कीले उल्लेख गर्नुभयो । “यसले रुसलाई फाइदा पुगेको छ”, उहाँले भन्नुभयो । यसले रुसको अर्थतन्त्र कमजोर पार्ने युक्रेनको रणनीतिक उद्देश्यलाई चुनौती दिएको छ ।

स्रोतको अभाव बढ्दै जाँदा युक्रेनले युरोपेली साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रयास गरेको छ । साथै, इरानद्वारा प्रयोग गरिएका ड्रोनविरुद्ध लडाइँमा हासिल अनुभव खाडी मुलुकहरूसँग बाँड्ने प्रस्ताव पनि अघि सारेको छ । युक्रेनले कम लागतमा विकसित गरेका इन्टरसेप्टर ड्रोन र समुद्री ड्रोनहरू साझा गर्दै त्यसको बदलामा एन्टीब्यालिस्टिक क्षमतामा सहयोग प्राप्त गर्ने रणनीति अघि बढाइएको छ ।

मार्च अन्त्यतिर जेलेन्स्कीले खाडी क्षेत्रको भ्रमण गर्दै रक्षा सहकार्य विस्तार गर्ने प्रयास गर्नुभएको थियो । त्यस्तै, विश्वव्यापी व्यापार मार्गको सुरक्षामा सहयोग पुर्‍याउने प्रस्तावस्वरूप स्ट्रेट अफ होर्मुज खुलाउन युक्रेनको अनुभव उपयोगी हुन सक्ने उहाँको धारणा छ ।

इस्तानबुलमै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग भएको भेटमा शान्ति वार्ता र सम्भावित उच्चस्तरीय बैठकबारे छलफल भएको जनाइएको छ । दुई देशबीच नयाँ रक्षा सम्झौता हुने सम्भावनासमेत उहाँले औँल्याउनुभयो ।

उता, युद्धक्षेत्रमा रुसले वसन्त आक्रमणलाई तीव्र बनाएको छ । करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा युक्रेनी सेना दबाबमा रहेको छ भने रुसले रणनीतिक क्षेत्रमा रक्षा रेखा भत्काउने प्रयास गरिरहेको युक्रेनी सेनाका प्रमुख ओलेक्सान्डर सिरस्कीले बताउनुभयो । हालसम्म रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ ।

यद्यपि, जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौतामा भूभाग त्याग्ने विकल्प युक्रेनका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई