स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

रुपन्देही- बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको ।

विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ । स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले यहाँ सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको छ ।

प्रकृतिको काखमा सुरक्षित महसुस गरेका सारस यतिबेला लुम्बिनी  वरिपरि ढुक्क भएर सन्तान वृद्धिमा लागेका छन् । सिमसार क्षेत्रमा मानव चहलपहल कम हुने भएकाले यी स्थान सारसको रोजाइमा पर्ने गरेका छन् । प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ । वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनसम्म ओथारो बसेपछि चल्ला कोरलिन्छन् । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्ने गर्छन् । यही अवधिमा आमा–बुबाले आहारा खोज्ने र जीवनयापन गर्ने तरिका सिकाउँछन् ।

सारस संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार सारसका बच्चा दैनिक करिब एक इन्चको दरले हुर्कने गर्छन् । “बच्चा केही हुर्किएपछि सारसको जोडीले नाचेर आफ्नो व्यवहार देखाउँछन् । त्यो नृत्य चल्लालाई सिकाउँछन्”, उहाँ भन्नुहुन्छ ।

सारसको जीवनचक्रमा रोचक पक्ष छन् । ओथारो बसेको समयमा भाले सारसले टाढाबाट आहारा खोजेर ल्याउने गर्छ । बच्चा निस्केपछि आहारा खोज्न धेरै टाढा जान नपरोस् भनेर उसले नजिकको आहारा टिप्न छाड्ने गरेको बताइन्छ । गङ्गटो, भ्यागुता, माछा र केही विशेष घाँसका जरा सारसका प्रिय आहार हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको छ । संरक्षणकर्मी कुर्मीका अनुसार अहिले नेपालमा ७०० जति सारस रहेका छन् । यीमध्ये लुम्बिनी आसपासमा मात्रै करिब ८० प्रतिशतभन्दा बढी जोडी सारस रहेका छन् ।

लोपोन्मुख मानिने यस पन्छीको संरक्षणमा अहिले स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पन्छी’ घोषणा गरेर संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ ।

लुम्बिनी विकास कोषले सारसका लागि उपयुक्त क्षेत्र छुट्याएको छ । विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको छ, जहाँ अहिले धेरै जोडी सारस देख्न सकिन्छ । यसबाहेक मर्चवार र लुम्बिनीको सीमा क्षेत्र भइ, बभनी, अजमा लगायतका क्षेत्रमा ठूलो समूहमा सारसहरू रमाइरहेका हुन्छन् ।

सारस संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले शान्ति स्तूप परिसरमा करिब दुई किलोमिटर पैदलमार्ग निर्माण गर्ने तथा चरा अध्ययन गर्न चाहने का लागि वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना लुम्बिनी विकास कोषले अघि सारेको छ ।

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति भेटिन्छन् । लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस, कालो टाउके सारस र सारस । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी मानिन्छन् ।

सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । विगतमा यसको अण्डा र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मी कुर्मी बताउनुहुन्छ ।

लुम्बिनी क्षेत्र सारस मात्र होइन, अन्य धेरै पन्छीको आश्रयस्थल हो । यहाँ कोइली, भद्राई, कालो चिबे, मधुमक्षी खाने चराहरू, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, हरिहाँस, बिजुलगैरे र सानो जलेवालगायत गरी २२२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् ।

संरक्षणकर्मी धर्मेन्द्र पालका अनुसार सारससहितका चरा अवलोकनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई पर्यापर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । सारसको संरक्षणसँगै लुम्बिनी अब गौतम बुद्धका अनुयायीहरूको आध्यात्मिक गन्तव्य मात्र नभई चराविद्, अनुसन्धानकर्ता र चरा अवलोकनकर्ताका लागि पनि आकर्षक अध्ययनस्थल बन्ने सम्भावना बढेको छ ।

शान्तिको भूमि लुम्बिनीमा सारसको मुक्त उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र होइन, संरक्षणप्रतिको मानवीय संवेदनालाई झन् उजागर गरिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था