धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ३०० फिट उचाइमा रहेको मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ । यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतीय सीमा क्षेत्र नजिक पर्ने धार्मिकस्थल भएका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गर्दछन् ।

स्थानीयका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको जनश्रुति छ । यसकारण दाउन्ने देवी मन्दिर ऐतिहासिक मन्दिरका रूपमा परिचित रहेको दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीले बताउनुभयो ।

विशेषगरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी तथा अन्य पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । दाउन्ने देवी मन्दिरलाई शक्तिपीठका रूपमा पूजाआराधना गर्ने गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । विवाह, व्रतबन्धलगायत कार्य गर्नका लागि पनि स्थानीयहरू मन्दिरमा आउने गरेको सुवेदीले बताउनुभयो ।

यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बालगायत धार्मिकस्थल पनि छन् । दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । “दसैँका बेला यहाँ भक्तजनको ठूलो घुइँचो लाग्छ भने अन्य समयमा सार्वजनिक बिदाका दिनमा उल्लेख्य भक्तजन आउने गर्छन्”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

प्राकृतिक रूपमा सुन्दर स्थान भएकाले धार्मिक यात्रामात्र नभई घुमफिरका लागि पनि मानिसहरू यहाँ आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा दाउन्ने देवी मन्दिर पनि सूचीकृत गरिएको छ । तर राज्यस्तरबाट मन्दिरको विकासका लागि खासै चासो नदिइएको उहाँले बताउनुभयो ।

मन्दिरमा भक्तजनहरूले चढाएको भेटीबाट पुजारी व्यवस्थापन, गौशाला सञ्चालन, कर्मचारी व्यवस्थापन तथा मन्दिरको सामान्य व्यवस्थापन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । “राज्यले यस्ता शक्तिपीठहरूको सञ्चालन र व्यवस्थापनमा पनि चासो दिनुपर्छ । यी हाम्रा धार्मिक सम्पदा भएकाले संरक्षणमा पनि पहल गर्नुपर्छ”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

हालै मन्दिर व्यवस्थापन समितिले अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा मन्दिर पुग्न सक्ने व्यवस्था मिलाउन बाटोको नयाँ मार्ग खोल्ने काम गरेको छ । यातायातका साधन मन्दिरसम्मै पुग्न सकून् भन्ने उद्देश्यले मार्ग खोलिएको भए पनि गिट्टी हालेर स्तरोन्नति गर्न समितिले सकेको छैन । यसका लागि राज्यले सहयोग गरिदिए राम्रो हुने अध्यक्ष सुवेदीको भनाइ छ ।

धार्मिक रूपमा नवलपुरकै प्रसिद्धस्थल दाउन्ने देवी मन्दिर क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । दाउन्ने डाँडाबाट सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले धार्मिक पर्यटनको गन्तव्यका रूपमा यस क्षेत्र विकास हुँदै गएको छ । यसको थप व्यवस्थापन र विकासका लागि सबैले पहल गर्नुपर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था