Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

गाजामा आक्रमण रोकिएपछि मात्र पुननिर्माण सुरु गर्नुपर्ने हमासको अडान

गाजामा आक्रमण रोकिएपछि मात्र पुननिर्माण सुरु गर्नुपर्ने हमासको अडान

प्यालेस्टिनी इस्लामवादी आन्दोलन हमासले गाजाको भविष्यबारेको राजनीतिक प्रक्रिया इजरायली ‘आक्रमण’ पूर्ण रूपमा रोकिएपछि मात्र सुरु हुनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डको पहिलो बैठकपछि बिहीबार जारी विज्ञप्तिमा हमासले नाकाबन्दी हटाउने, जनताको वैध राष्ट्रिय अधिकार सुनिश्चित गर्ने र स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई पहिलो प्राथमिकताका रूपमा राख्नुपर्ने जोड दियो ।

ट्रम्पको बोर्डको उद्घाटन सत्र वासिङ्टनमा भएको थियो, जहाँ धेरै देशले प्यालेस्टिनी क्षेत्रको पुनर्निर्माणमा आर्थिक र मानवस्रोत सहयोग दिने प्रतिज्ञा गरे । गाजा र हमासबीचको युद्धविराम चार महिनाभन्दा लामो समयदेखि कायम छ ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनर्निर्माण सुरु हुनुअघि हमासलाई निःशस्त्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । “गाजाको निःशस्त्रीकरण हुनु अघि पुनर्निर्माण सुरु हुने छैन भन्नेमा हामी अमेरिका साझेदारसँग सहमत छौँ”, नेतान्याहुले भन्नुभयो । इजरायली प्रतिनिधित्व विदेशमन्त्री गिदोन सारले गर्नुभएको थियो, प्रधानमन्त्री वासिङ्टनमा उपस्थित हुनुभएन ।

खाडीका देशहरूले समेत गाजाको पुनर्निर्माणका लागि सात अर्ब डलरभन्दा बढी योगदान गर्ने वाचा गरेका छन् । मुस्लिम बहुल इन्डोनेसियाले नवजात अन्तर्राष्ट्रिय स्थिरीकरण बलमा उप–कमान्डरको भूमिका निर्वाह गर्ने अमेरिकी प्रमुख मेजर जनरल जास्पर जेफर्सले बताउनुभयो । नोभेम्बरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजाका लागि योजना अनुमोदन गरेपछि ट्रम्पले मोरक्को, कजाकिस्तान, कोसोभो र अल्बानियासहित पाँच देशले सेना उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ ।

यो पहल गाजाको दीर्घकालीन स्थिरीकरण र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारी र कूटनीतिक प्रयासलाई बलियो बनाउने दिशामा लिइएको कदमका रूपमा हेरिएको छ ।।

Source link

तपाईंको प्रतिक्रिया