घर्तीभिरको चट्टान फुटाउन थालियो – सार्वजनिक सेवा प्रसारण संस्था

घर्तीभिरको चट्टान फुटाउन थालियो – सार्वजनिक सेवा प्रसारण संस्था

खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले एक करोड सात लाख ७७ हजार ८४७ रुपैयाँमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाउन सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिनुभयो ।

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो ।

सगरथामा लोकमार्गको दिक्तेल–गाईघाट सडकको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो छ । दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गराइएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण भइसकेको छ । घर्तीभिरमा ठूला चट्टान रहेकाले प्रदेश सरकार गुहारेका हौँ । यही वर्षबाट सडक सञ्चालन गर्नेगरी प्रदेश सरकारबाट प्राप्त बजेटले काम सुरु गरिएको छ ।”

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक सफा गर्नेगरी यस आर्थिक वर्षका लागि ठेक्का लगाइएको लेखा अधिकृत राउतले जानकारी दिनुभयो ।

तीव्रगतिमा निर्माण भइरहेको दिक्तेल–रेग्मीटार सडकमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ । प्रदेश सडक पुल सहयोग एकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालय खोटाङमा प्राप्त तीन करोड रुपैयाँ बजेटमा ठेक्का आह्वान गर्दा पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा सम्झौता गरेर ट्रस पुल निर्माणको काम सुरु गरेको कार्यालयका कन्सल्टेन्सी इन्जिनियर अङ्कित भट्टराईले जानकारी दिनुभयो ।

दिखुवाखोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमै कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । ट्रस प्रयोग गरेर निर्माण गरिने मोटरेबल पुलका लागि आवश्यक स्टिल ट्रष्ट कोशी प्रदेश सडक पुल सहयोग एकाइ इटहरीले निर्माण कम्पनीलाई उपलब्ध गराएको जनाइएको छ ।

दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक दुई करोड रुपैयाँ बढीको स्टिल ट्रस निर्माणस्थलमा झारिएको जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो हुने भएपछि जिल्लावासी पनि उत्साहित बनेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक