कास्की निर्वाचन क्षेत्र नं ३ – कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

कास्की निर्वाचन क्षेत्र नं ३ – कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

गण्डकी– कास्कीका निर्वाचन क्षेत्र ३ ले जिल्लाका तीनवटा पालिकालाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको पूरै भागसँगै पोखरा महानगरपालिकाका–११ वटा वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

पर्वतीय पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यसै क्षेत्रमा पर्दछ । यस क्षेत्रमा पर्ने पोखरा महानगर क्षेत्र अन्तर्गत वडा नं १, २, ३, ५ र ६ पोखराका मुख्य बजार क्षेत्रमा पर्दछन् । त्यस्तै महानगरका वडा नं १८ सराङकोट, वडा नं १९ लामाचौर, पुरनचौर, वडा नं २२ पुम्दी, वडा नं २३ चापाकोट, भदौरेका केही भाग, वडा नं २४ को कास्कीकोट र वडा नं २५ को हेमजा यहाँका ग्रामीण क्षेत्रमा पर्दछन् ।

बजार क्षेत्रमा रहेका मतदाताले व्यवस्थित सुविधा सम्पन्न सहरका रुपमा विकास हुनुपर्ने विषयलाई यस निर्वाचनका उम्मेदवारसँग प्रतिबद्धता खोज्दै छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका मतदाताले कर महानगरको तिरे त्यस अनुसारको सेवा सुविधा पाउन नसकेको विषयलाई चुनावी मुद्दा बनाउने बताएका छन् । ग्रामीण क्षेत्रमा बढ्दो बाँदरको समस्याले बस्ती नै छोडेर हिँड्नुपर्ने जस्ता विषयको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता खोज्ने तयारीमा मतदाता छन् । आलु गाउँका रुपमा पहिचान बनाएको यस निर्वाचन क्षेत्रको हेमजालगायत स्थानमा कृषिको व्यवस्थित विकास गर्न सकिन्छ ।

यस क्षेत्रका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका धेरैजसो वडा अझै पनि सडक बाटोघाटोलगायतका पूर्वाधारको पर्खाइमा छन् भने महानगरका वडाहरू मध्ये वडा नं २२ पुम्दी, २३ चाँपाकोट र २४ कास्कीकोटका केही भागहरू अझै धेरै किसिमको विकासको पर्खाइमा रहेका छन् ।

यहाँका स्थानीयहरू आसन्न निर्वाचनमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनसहित जनजीविकाका सवाललाई उम्मेदवारहरूसँग प्रतिबद्धता खोज्ने बताउँछन् । यहाँका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पूर्णरुपमा नै पर्वतीय पर्यटनका प्रचुर सम्भावना बोकेका क्षेत्र भएको स्थानीय मतदाता एवं पत्रकार टङ्कप्रसाद अधिकारी बताउनुहुन्छ । यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधारहरू विकासमा जोड दिइनुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ्रे आधार शिविर, अन्नपूर्ण आधारशिविर (एबिसी) पर्वतीय एवं हिमाली पर्यटनका आकर्षक गन्तव्य हुन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकाको मर्दी पदमार्ग जस्ता पदमार्ग पदयात्रा पर्यटनको विशिष्ट गन्तव्यका रुपमा रहेको अधिकारीले बताउनुभयो । प्राकृतिक रुपमा आकर्षक रहेर भौगोलिक विकटतासँगै जलवायु परिवर्तनको बढ्दो असरका कारण प्राकृतिकजन्य प्रकोपले यी क्षेत्रमा बर्सेनि चुनौती थपिँदै गएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ बताउनुहन्छ ।

समय समयमा आउने हिमपात, हिमआँधी, हिमपहिरोको चुनौतीलाई समाधान गर्नु जरुरी रहेको बताउँदै उहाँले यस क्षेत्रमा लागि यो चुनौतीको समाना गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो । विश्वमा नै १० उत्कृष्टमध्येको अन्नपूर्ण आधार शिविरको पदमार्ग अझै पूर्णरुपमा सबैखाले पर्यटकका लागि पहुँचयुक्त बन्न नसकेको उहाँको भनाइ छ ।

पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल आवश्यक रहेको बताउँदै सचिव गुरुङले आसन्न निर्वाचनका उम्मेदवारसँग यी विषयमा प्रतिबद्धता खोजिने बताउनुभयो । “यस क्षेत्रमा सञ्चारको ठूलै समस्या छ”, उहाँले भन्नुभयो, “सहज सञ्चारको पहुँचसँगै विद्युतीकरण यहाँको अर्को गम्भीर समस्या हो ।” पदमार्ग क्षेत्रको छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरसम्म नै विद्युत्को राष्ट्रिय लाइन जोडिन नसकेको कारण यस क्षेत्रमा विद्युतीकरण अपरिहार्य आवश्यकता भएको उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिवर क्षेत्र जाने मार्गमा रहेको धार्मिक महत्वको पूजनीयम् बराह, लुम्लेस्थित कान्छी बराह, फेवा तालस्थित ताल बाराहीलगायत तीर्थस्थलहरू यस क्षेत्रका धार्मिक पर्यटनका गन्तव्य हुन् ।

अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय विकाससँगै पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड र फेवातालको प्राकृतिक सुन्दरता बचाउनु र संरक्षण गर्नु यस क्षेत्रका चुनौतीहरू रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहन्छ । राज्यबाट स्थानीयवासीलाई उचित मुआब्जा एवं क्षतिपूर्तिविना नै फेवा तालको मापदण्ड कार्यान्वयन गर्न खोजिनुले यहाँका स्थानीयवासी समस्यामा परेको बताउँदै उहाँले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग यी विषयमा स्थानीयले प्रतिबद्धता खोज्ने बताउनुभयो ।

“यसअघि फुट ट्रेक बनाउने नाममा फेवा किनाराका कतिपय व्यक्तिको जग्गा तालभित्र पारिएको छ”, उहाँले भन्नुभयो, “फेवा मापदण्डको कार्यान्वयनका लागि स्थानीयवासीलाई उचित प्रमाणसहित राज्यले विश्वस्त पार्दै उचित मुआब्जा एवं क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।”

लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुन्धरा पार्क, नेपाल ट्रष्टको खाली जग्गा र पर्यटन मन्त्रालयको जग्गालाई व्यवस्थित पार्किङसहित उपयोग गरिनुु आवश्यक रहेको उहाँले बताउनुभयो । लेकसाइडमा बाहिरबाट आउने सवारीसाधनलाई यथेष्ट पार्किङ गर्नका लागि व्यवस्थित रुपमा पार्किङको व्यवस्था गरिनु आवश्यक भएको बताउँदै उहाँले अव्यवस्थित पार्किङले यस क्षेत्रमा ठूलै समस्या उत्पन्न गरिरहेको बताउनुभयो ।

यस निर्वाचन क्षेत्रमा समृद्धिको महत्वपूर्ण आधार नै पर्यटन भएको उल्लेख गर्दै उहाँले दीगो एवम् व्यवस्थित पर्यटनको विकाससँगै पर्यटनमैत्री राज्यको नीति बन्नुपर्ने लगायतका विषयलाई चुनावी मुद्दाका रुपमा अघि बढाइने बताउनुभयो । आसन्न निर्वाचनमा यस क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी गराउनुभयो । यस क्षेत्रमा नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले) बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेकपाबाट गोपाल गिरीलगायत उम्मेदवारी परेको छ । यस क्षेत्रमा एक लाख सात हजार ५६० जना मतदाता छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक